२८ मंसिर २०७५, शुक्रबार
  • देवराज पन्त,

मकवानपुर । २८ मंसिर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले श्रष्टा सर्जकहरुको भूमिकाकै कारण राज्य व्यवस्थामा आमूल परिवर्तन भएको बताएका छन् । उहाँले श्रष्टा सर्जकहरुको यही योगदानको सम्मान गर्दै प्रतिलिपी अधिकार र रोयल्टी व्यवस्थापनमा प्रदेश सरकारको पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

हेटौँडामा आज आयोजित एक दिवसीय प्रतिलिपी अधिकार र रोयल्टी व्यवस्थापनमा प्रदेश सरकारको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा मुख्यमन्त्री पौडेलले रोयल्टी भन्ने विषय श्रष्टाहरुको माग नभई संविधानमा सुनिश्चित गरिएको अधिकार रहेकोले त्यस्को कार्यान्वयनमा प्रदेश सरकारले भूमिका खेल्ने बताए । संघीय कानुनसंग नबाँझिने गरी प्रदेश सरकारले यस सम्बन्धि कानुन निर्माण गर्ने पनि मुख्यमन्त्री पौडेलले बताएका छन् ।

त्यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलालले बौद्धिक रचनालाई पनि यसको सम्पत्तिको रुपमा लिनु पर्ने र रोयल्टी व्यवस्थापन चुनौतीको बिषय रहेपनि प्रदेश सरकारले कार्यान्वयन गर्ने बताएका छन् । कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले पनि प्रतिलिपी अधिकार व्यवस्थापनमा प्रदेश सरकारको चासो रहेको भन्दै आफनो तर्फबाट भुमिका खेल्ने धारण व्यक्त गरेका छन् ।

अन्तक्र्रिया कार्यक्रममा प्रदेश सभा सदस्यहरु प्रेम बहादुर पुलामी, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनी, उद्योग संघका अध्यक्ष नवराज अर्याल, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

संगीत उत्पादक समाजका अध्यक्ष निर्मल ढकालको अध्यक्षता तथा संगीतकार चेतन सापकोटाको संयोजकत्वमा भएको अन्तक्र्रिया कार्यक्रममा रोयल्टी संकलन समाजका महासचिव संगीतकार महेश खड्का, नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार प्रकाश अर्याल, सहित विभिन्न विधाका संगीतकार, श्रष्टा तथा गीतकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय, संगीत रोयल्टी संकलन समाज नेपाल, संगीत उत्पादक समाज नेपाल र प्रस्तोता समाज नेपालले संयुक्त रुपमा आयोजना गरेको हो ।

 

LIVE TV