२८ मंसिर २०७५, शुक्रबार

सोलुखुम्बु । यहाँको थुलुङदूधकोशी गाउँपालिका वडा नं ९ लोखिमबाट प्रवाह गरिने सेवा काठमाडौँबाट प्रदान गरिएको छ । काठमाडौँको चावहिलमा लोखिम हाउस नामबाट सञ्चालनमा रहेको कार्यालयबाट वडाको सेवा प्रदान गरिएको हो ।

काठमाडौँलाई कार्यथलो बनाएर बसेका वडावासीलाई लक्षित गरी हरेक महीनाको अन्तिम दुई दिन लोखिम हाउसले काठमाडौँबाट सेवा दिँदै आएको छ । गत भदौ महीनामा कोठा भाडामा लिएर सेवा थालिएको हो । लोखिम हाउसबाट हालसम्म चार पटकमा १३० जनालाई सेवा प्रदान गरिसकिएको छ जसमध्ये सबैभन्दा धेरै पञ्जीकरण सम्बन्धी सेवा रहेको लोखिम हाउस काठमाडौँले जनाएको छ ।

वडा कार्यालय र वडाध्यक्ष स्वयंको पहलमा महीनाको अन्तिम दुई दिन वडाका सम्पूर्ण सेवा काठमाडौँबाटै प्रदान गर्ने सो वडा जिल्लाकै एक मात्र वडा हो ।

“वडा कार्यालयको कदमका कारण समय र पैसाको बचत भएको छ, हाम्रा जनप्रतिनिधिदेखि हामी सन्तुष्ट छौ ।” एक सेवाग्राही दावा गेल्जे शेर्पाले भने ।

LIVE TV