२७ मंसिर २०७५, बिहीबार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले अब बस्ने स्थायी समिति बैठकमा सरकारको बारेमा निर्मम समीक्षा हुने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता रायमाझीले पार्टीको अब बस्ने स्थायी समिति बैठकमा पार्टी निर्माण, संगठन विस्तार र सरकार सञ्चालनको विषयमा छलफल तथा समीक्षा हुने जानकारी दिए । साक्षात्कारमा उनले भने,‘हामी पार्टी एकतालाई पूर्णता दिने पक्षमा छौं । सरकार गठन भएको पनि ९ महिना पूरा भैसकेको छ । यो बीचमा सरकारले हाँसिल गरेको उपलब्धिहरु र कमी कमजोरीहरुबारे छलफल र समीक्षा दुवै हुन्छ ।’

पछिल्लो समय सरकारले आफ्नो कामकारबाहीको गतिलाई बढाएको रायमाझीको विश्वास छ । उनले भने,‘तीन महिना अघि र अहिलेको सरकारको गति हेर्दा अहिले गियर बढाएको छ । सरकारले अहिले पिक–अप लिएको छ । म अहिले सरकारको काम गराईबाट खुशी छु ।’ पहिलेको तुलनामा सरकारले धेरै राम्रो काम गरेको उनले जिकिर गरे । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता रायमाझीले थपे,‘बाटा घाटाहरु बनेका छन् । काठमाडौं उपत्यकामा धुलो धुँवा कम भएको छ । खाल्डाखुल्डीहरु पुरिएका छन् । कलंकी–नागढुंगा सडक धेरै राम्रो बनेको छ । रिङ रोडहरु धमाधम बनिरहेका छन् ।’

नेपालका कम्युनिष्टहरुको आधार भनेको नै संघीयता भएकोले आफूहरु संघीयताको विरोधी नभएको पनि नेता रायमाझीले स्पष्ट पारे । ‘कम्युनिष्टहरुले राज्यको निरंकुशता फाल्नको लागि निर्णायक भूमिका खेलेका छन्’–उनले भने,‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक, लोकतन्त्र र प्रजातन्त्रको लागि कम्युनिष्टहरुको महत्वपूर्ण भूमिका थियो । कम्युनिष्टहरुले यस्मा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । त्यही भएर जनताले हामीलाई स्वीकार गरेर बहुमत दिए । ’

LIVE TV