२७ मंसिर २०७५, बिहीबार
  • दानबहादुर बुढा,

मुगु, २७ मंसिर । मुगु जिल्लाको पूर्वी भेगमा रहेको मुगमकामारोङ्क गाउँपालिकामा रहेको स्वास्थ्य संस्थामा २ ÷३ महिनादेखि सामान्य औषधि सिटामोलदेखि जीवनजलसम्मको अभाव भएको छ ।

प्रत्येक स्वास्थ्य संस्थामा सामान्य औषधिदेखि जटिल खाले औषधि गरी ३५ प्रकारको औषधि अनिवार्य र नियमितरुपमा राख्नु पर्ने एवं सहजैरुपमा सेवाग्राहीले पाउनु पर्ने सरकारी प्रावधान भए पनि मुगु जिल्ला अन्तगर्त मुगमकामारोङ्क गाँउपालिका अन्तर्गत रहेका सामुदायिक स्वास्थ्य सेवा छाईल स्वास्थ्य चौकी माग्राी,पुलु स्वास्थ्य चौकी,किम्री स्वास्थ्य चौकी ,मुगु स्वास्थ्य चौकीहरुमा सामान्य सिटामोलदेखि अन्य औषधिसम्मको चरम अभाव देखिएको छ ।
पछिल्लो समयमा नयाँ सरकारको नयाँ कार्य, नयाँ अनुभूति पाईने आशामा रहेका मुगालीहरु सामान्य औषधि समेत नपाउँदा स्थानीय सरकार आएको कुनै पनि अनुभूति गर्न नपाएको र सिंहदरवारबाट गाँउ घरसम्म सिंहमात्र आएको अनुभूति गरेको गर्न मुगालीवासी बाध्य बनेका छन् ।

छाईलमा रहेको सामुदायिक स्वास्थ्य ईकाईमा औषधिको निकै अभाव भएको छ भने औषधि उपचारको लागि आएको सेवाग्राहीलाई सानो एककोठा भित्र औषधि स्टोर, त्यसैमा बिरामी चेकजाँच र गर्भवती महिलालाई पनि चेकजाँच गर्ने गरिएको छ ।

औषधि माग्न गएको बेला कुनै पनि औषधि पाइदैन, कुनै दिन कर्मचारी समेत भेटिदैनन् । बिरामी भएको भेला भगवानको भरमा बस्नु पर्ने अवस्था छ । बिरामी भएको बेला सदरमुकाम गमगढी जानु पर्ने बाध्यता पनि उनीहरु माथि आइलागेको छ । ‘हुने खानेहरु त नेपालगञ्ज, काठमाडौ र सुर्खेत जान्छन, हामी गरीब दुःखीहरु बिरामी भएको बेला गाउँमा रहेको स्वास्थ्य संस्थामा जीवनजल,सिटामोल समेत पाउँदैननौ ,कर्मचारीहरु नियमित कार्यालयमा बस्दैनन् ,गाउँपालिकाले पनि पहल गर्न खोज्दा उल्टै झगडा गर्न आउछन’ मुगमकामारोङ्क गाँउपालिकाकी कार्यपालिका सदस्य ऐटोल बिकले दुःख व्यक्त गरिन् ।
हिजो आज जाडो मौसमका कारण निमोनिया ,झाडापखालालगायत बिरामी प्रति दिन २ सय २५ जना सम्म आउने गरेका छन् । २ महिना जति भयो स्वास्थ्य संस्थामा औषधि अभाव भएकोले गाउँपालिकाले धेरै नभएर थोरै थोरै औषधि सहयोग गर्दै आएको माग्री स्वास्थ्य चौकीकी निमित्त ईन्चाज गाईली खत्रीले बताउछिन् ।

गर्त बर्ष गाउँपालिका भरका स्थानीयवासीलाई लक्षित गरि १ लाख बराबरको औषधि खरिद गरिएको र यो बर्ष गाउँपालिकाको सशर्त अनुदानको लागि आएको ६ लाख मध्ये ४ लाख ९९ हजारको औषधि खरीद गरिएको मुगमकामारोङ्क गाउँपालिकाका स्वास्थ्य प्रमुख सिंहमल बुढाको भनाइ छ । तर स्वास्थ्य संस्थामा औषधिको निकै समस्या देखिएको छ ।

मुगमकामारोङ्क गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य सस्थामा नियमित कर्मचारी नबस्ने,२ महिना भन्दा बढी समयसम्म औषधि अभाव समस्या देखिए पछि जिल्ला प्रशासन कार्यालयले आकस्मिक अनुगमन पनि गरेको थियो । कर्मचारी उपस्थिति कम रहने ,स्वास्थ्य भवन जीर्ण देखिएको ,सामान्य औषधि पनि नभएको, गाउँपालिकाको ध्यान कम गएको हँुदा गाउँपालिकालाई समेत स्वास्थ्य क्षेत्रमा ध्यान दिन आग्रह समेत गरिएको अनुगमन पछि प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

मुगमकामारोङ्क गाँउ पालिकामा रहेका स्वास्थ्य सस्थामा औषधि नपाईने ठूलो समस्या रहेको छ तर सो संस्थामा दरबन्दी अनुसार कर्मचारी भएपनि नियमित उपस्थित नहुने गरेको गुनासो पनि तीब्र बन्दैछ । तर किम्री गाउँवासीलाई भने आफ्नो गाउँको स्वास्थ्य संस्थामा कति कर्मचारी छन भन्ने समेत थाहा हुन सकेको छैन् ।

LIVE TV