२७ मंसिर २०७५, बिहीबार
  • अमर काफ्ले,

इनरुवा । निर्माण सम्झौता बमोजिमको काम नभएको भन्दै नगरवासी पक्ष र विपक्षमा उभिन थालेपछि सुनसरीको इनरुवा नगरपालिकामा निर्माणाधिन सडकको विषय पेचिलो बन्दै गएको छ ।

कालोपत्रेका लागि सम्झौता भएको सडक अधुरो अवस्थामा रहने भन्दै स्थानीयले मापदड अनुरुपको सडक निर्माण गरिनुपर्ने अडान राखेका छन् । निर्माण कम्पनी र नगरपालिका विरुद्ध स्थानीयले आन्दोलन छेड्ने चेतावनी दिरहँदा नगरपालिकाको कार्यालय भने समस्याको समाधान खोज्न तर्फ लागिपरेको छ ।

सडक निर्माणको विषय बेलैमा टुङ्ग्याउन नसके नगरवासी र नगरपालिकाको कार्यालयबीच कटुतापूर्ण अवस्थाको सृजना नहोला भन्न सकिन्न । स्मार्ट सिटी परियोजना अन्र्तगत ठेक्का सम्झौता भएको सडक निर्माणको कार्य बिचमै अलपत्र पर्ने अवस्था सृजना भएको भन्दै नगरवासीले असन्तुष्टि जनाएका हुन् ।

सोही विषयलाई लिएर सृजना हुने पुगेको अन्यौलतालाई चिर्न इनरुवा नगरपालिकाको कार्यालय लागिपरेको छ । जसका लागि समस्याको बेलैमा निदान खोज्नु चुनौतीका रुपमा देखा परेको छ ।

सडक निर्माणको कार्यप्रति स्वयं स्थानीय वडाध्यक्षहरु समेत असन्तुष्ट बनेका छन् । नगरवासीहरु समेत नगरपालिका र निर्माण कम्पनीको रवैया प्रति रुष्ट देखिएका छन् ।

वडा नम्वर ३ का वडाध्यक्ष कालुराम गुङग सहितका स्थानीयले त नगर प्रमुखको ध्यानाकर्षणसहित रमण कन्ट्रक्सन प्रालि उपर कार्वाहीको मागसहित जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी समेत दिइसकेका छन् ।

सम्झौता अनुसार कन्ट्रक्सनले सखुवागाछी चौकदेखि साविक इनरुवा ७ कुसुमगाछी दक्षिणतर्फको जिल्ला शिक्षा कार्यालयको भवन देखी उत्तरमा रहेको कलभर्ट सम्म पूर्वाधारयुक्त ५२ फिट सडक बनाउन १७ करोडमा ठेक्का पाएको थियो ।

इस्टिमेट भन्दा बाहिर गरी एकतर्फी खण्डमा ७० फिटमा संरचना निर्माण गरिएपछि सम्झौता बमोजिमको सडक निर्माणको कार्य अधुरो रहने भन्दै स्थानीयको असन्तुष्टि चुलिएको हो ।

५२ फिटमा गर्नुपर्ने काम ७० फिटमा गरिएपछि तत्कालकालागि सडक १३ सय मीटर अर्थात बढीमा जिल्ला समन्वय समितिको कार्यालय सम्म मात्र बन्ने देखिएको छ । पूनः मूल्यांकन भएको खण्डमा केही मिटर सडक लम्बिने सम्भावना रहेपनि वडावासीहरु भने पूर्ण रुपमा विस्तस्त हुने अवस्था नरहेको बताउँछन् ।

तोकिएकै मापदण्डमा सडक बन्नु पर्ने अडान लिएका स्थानीयहरुले नगरपालिकामा दबाब सृजना गरिरहेका छन् । सम्झौता बमोजिमको काम नभएपछि सिङगो बजार हुँदै सखुवागाछीसम्मको सडक लथालिङग रहने भन्दै स्थानीयले बिरोध जनाउन थालेका हुन् । उनिहरुले समयमै टेण्डर बमोजिमको सबै खण्डमा काम हुनु पर्ने अडान राखेका छन् ।

यद्यपी नगरपालिकाको कार्यलयले भने बन्नु पर्ने सडकको सबैभाग समयमै सम्पन्न हुने दावी गरेको छ । तत्कालीन समयमा बिभागका डी सहित मन्त्रालयका सचिवको आश्वासनमा काम थालिएको बताउने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता निर्माण कम्पनीको लापरवाहीका कारण जनमानसमा नकारात्मक सन्देश फैलिन गएको बताउँछन् ।

हाल जारी रहेको काम बढीमा दुई हप्ता सकिने बताएका नगर प्रमुख मेहताले केही दिन भित्रबाट त्यस भन्दा अगाडि बजार तर्फ अघि बढ्ने सडकको काम समेत थालिने जनाएका छन् । सडकको विषयमा सरोकारावालासँग भएको छलफल समेत सकारात्मक भएको मेहताको भनाई छ ।

काम बेलैमै सक्ने र अपुग रकमको हकमा पहल थालिने बताएको इनरुवा नगरपालिकाको कार्यालयले जारी सडक निर्माणको कार्य निरन्तर रुपमा अघि बढ्ने भन्दै नगरवासीमाझ शंका उपशंका नगर्न आग्रह समेत गरेको छ ।

सम्झौता बमोजिमको सडक नबनाइदा नगरवासीमा आक्रोस पैदा हुनु स्वभाविक नै हो । जसलाई नगरपालिकाको कार्यालय र निर्वाचित जनप्रतिनिधिहरुले उचित सम्बोधन गर्न सक्नु पर्दछ । स्थानीयको विश्वास जितेर बिकास निर्माणको कार्य अघि बढाउन सके समृद्ध नगरको सपना साकार तुल्याउने कदममा इनरुवा नगरपालिकाका लागि पक्कै इटा थप्ने काम हुने थियो ।

LIVE TV