२७ मंसिर २०७५, बिहीबार

हनोइ । भियतनाममा यसैसाता आएको भारी वर्षा र त्यसपछिको बाढीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

देशको मध्य भूभागमा आएको बाढीका कारण ठूलो भौतिक क्षति पुगेको भियतनामको प्राकृतिक प्रकोप नियन्त्रण समितिले जानकारी दिएको छ । मध्य भियतनामका पाँच ओटा प्रान्तमा बाढीले १४ जना व्यक्तिलाई बगाएर लगेको र तीमध्ये १३ जनाको शव भेटिएको तथा एकजना अझै बेपत्ता रहेको समितिले जनाएको छ ।

सो बाढीले करिब १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली डुबाएको छ । त्यसैगरी करिब एक लाख ६३ हजार थान पशुपंक्षी बगाएको छ ।

समितिका अनुसार बाढीबाट करिब १२८ किलोमिटर सडकका साथै सिंचाई प्रणालीमा पनि क्षति पुगेको छ । भियतनाममा यसवर्ष आएको बाढी, पहिरो, भारी वर्षा तथा आँधीका कारण कम्तीमा एकसय ८९ जनाको ज्यान गइसकेको छ ।

Viatnam flood के लिए इमेज परिणाम

भियतनामको कृषि तथा ग्रामीण विकास मन्त्रालयका अनुसार यस वर्षको ११ महिनामा प्राकृतिक प्रकोपका कारण करिब ३९ करोड १३ लाख अमेरिकी डलर बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । (रासस/सिन्ह्वा)

LIVE TV