२६ मंसिर २०७५, बुधबार

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको संयोजनमा जन्मिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एकताले एक वर्ष पार गरिसक्यो । तर, उसले एकताको सन्देश दिन सकेको छैन । नेतृत्वको एकलौटी शैली र वेवास्ताले विवादको बीउ रोपिएको भन्दै एकपक्षले अन्तरपार्टी संघर्षको घोषणा गरिसकेको छ । नेकपाकै नेतृत्वमा रहेको सरकारको आन्तरिक आलोचना बढ्दा संस्थापन पक्ष ‘रक्षात्मक’ बन्नुपर्ने बाध्यतामा छ ।

हुन न त नेकपाका नेता पार्टीभित्र जारी विवाद आन्तरिक अन्र्तविरोध मात्र हो भन्छन् । र उनीहरुको मत छ दूई ठूला पार्टी एक हुँदाका यी घटना सामान्य हुन् । तर, तथ्यले भन्छ पार्टीमा आन्तरिक मतभेद र तिक्तता बढ्दो छ । ताजा उदाहरण हो शनिवार बोलाइएको सचिवालय बैठक । नेतृत्वले वेवास्ता गरेको भन्दै माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सो बैठक नै बहिष्कार गरे । जसलाई संस्थापन पक्ष निकटका नेता ‘अनावश्यक’ झै बुझ्छन ।

एसिया प्यासिफिक समिटले पनि आन्तरिक विवादलाई थप सतहमा ल्यायो । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समिट सफल पार्न लाग्दा अर्का अध्यक्ष दाहाल ‘मौन’ रहे । धर्म प्रचारमा सरकार र पार्टी लागेको भन्दै भीम रावल, घनश्याम भुषाललगायतले नेतृत्वको खुलेरै आलोचना गरे ।

प्रदेशको कार्यविभाजनलाई लिएर नेपाल पक्षीय नेताले स्थायी कमिटीको बैठक माग गरेको लामो समय भइसकेको छ । चार नेताले बहिस्कार गरेको सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटीको बैठक आह्वान त गरेको छ । तर, बस्नेमा नेपाल पक्षीय नेता नै शंका गर्छन् । स्थायी कमिटी बैठक बस्दा नेपाल र श्रेष्ठ समूहले पार्टी सञ्चालनको एकलौटी मात्र होइन, सरकारको निम्छरो गतिलाई मुख्य मुद्दा बनाउने नै छन् । सचिवालयको बढ्ता चलमल्याईमा उनीहरुको चासो छ ।

नेकपाले प्रदेशभन्दा तलका सांगठनिक संरचनाको समायोजन गर्न सकेको छैन । भ्रातृ संगठन र विभागको एकता झनै पेचिलो छ । सबै एकतामा पूर्व एमाले र माओवादीको मात्र होइन, तत्कालिन दुवैतर्फका गुटको सन्तुलन मिलाउनु पर्ने बाध्यता छ । एक वर्षसम्म पार्टी एकता प्रक्रिया नटुंगिदा जिम्मेवारीविहीन कार्यकर्तामा निरासा छाउँदा नेतृत्व तहमा भने भागवण्डाका लागि रस्साकस्सी छ ।

 

LIVE TV