२६ मंसिर २०७५, बुधबार

काठमाडौं । नेपालमा बार्षिक १० अर्ब बराबरको सौन्दर्य सामग्री आयात हुन्छ । तर, गुणस्तरको स्पष्ट मापदण्ड र प्रयोगमा सचेतना नहुँदा नक्कली कस्मेटिक्सको बजार फस्टाएको छ । बहुराष्ट्रिय कम्पनीले नेपाललाई ‘प्रयोगशाला’ बनाए पनि नियमक निकाय छैन ।

सौन्दर्य सामग्री मानिसको आधारभूत आवश्यकता नै बनिसकेको छ । तर, प्रयोगको असरलाई मध्यनजर गर्दै धेरै मुलुकले मापदण्ड बनाएका छन् । कतिपय देशमा सौन्दर्य सामग्रीले शारीरिक क्षति पु¥याए क्षतिपूर्ति भराउने कानून पनि छ । तर, नेपालमा सौन्दर्य सामग्रीको न मापदण्ड छ न प्रयोगकर्ता नै सचेत छन् ।

आर्थिक बर्ष २०७४÷७५ मा १० अर्ब १७ करोडको सौन्दर्य सामग्री आयात हुँदा यो आर्थिक वर्षको ५ महिनामा मात्रै ३ अर्ब ८५ करोड बाहिरिएको छ । अधिकांश सौन्दर्य प्रशाधन भारत, चीन, इन्डोनेसिया, इटाली, जर्मनी र अमेरिकाबाट आयात हुन्छ ।

अघिल्लो वर्षको आयात तथ्यांक :

  • लिपिष्टिक-लिप लाइनरः २५ करोड
  • स्याम्पुः८७ करोड
  • कपाल रंगाउने रंगः १ अर्ब ५८ करोड
  • आइलाइनर-गाजलः १३ करोड
  • नङ पालिसः १० करोड
  • परफ्यूमः ८० लाख

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डलाई आधार बनाइएर गुणस्तर तथा नापतौल विभागले गरेको परीक्षणअनुसार नेपाल भित्र्याइने सौन्दर्य प्रशाधनमा रसायनको मात्रा अधिक र मापदण्ड बिपरित छ । मापदण्डभन्दा बढी रसायन भएका सामग्रीको प्रयोगले स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।

सौन्दर्य प्रशाधनले छाला मात्र नभई शरीरका भित्री अंगमा समेत असर गर्छ । तर, गुणस्तरसम्बन्धी मापदण्ड नहुँदा अनुगमन र कारबाही गर्न नसकिएको सरकारी निकायको भनाइ छ ।

नेपालमा ओले, गार्नियर, ल्याक्मे, लोटस, पोन्ड्स, डोभ, भीएलसीसी, रेभलोन, जोनसन एण्ड जोनसन, जोय, निभिया, आस्थाबेरी, इन्च्यान्टर लगायत अन्तर्राष्ट्रिय ब्रान्डका सौन्दर्य प्रशाधन आयात भइरहेको छ । जसमा लिड, मर्करीलगायत रसायनको मात्रा मापदण्ड विपरित छ । अन्तर्राष्ट्रिय ब्राण्डको नाममा चीनबाट भित्रने नक्कली सामग्रीको दबदबा बढिरहँदा प्रयोगकर्ता झनै जोखिममा पर्न थालेका छन् । ब्रान्डेड भनिएका सामाग्रीमै मापदण्ड विपरित रसायन छ भने नक्कली झन कति खतरनाक होलान् ?

LIVE TV