२६ मंसिर २०७५, बुधबार

काठमाडौं । रामजानकी विवाह पञ्चमी धुमधामले सम्पन्न भयो । यसपटकको यो महोत्सवलाई भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको उपस्थितिका कारणले खास महत्व दिइयो । तर, आदित्यनाथको नेपाल भ्रमणलाई धेरैले राजनीतिक भनेर परिभाषित गरेका छन् । जसको ग्रान्ड डिजाइनर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मानिएको छ ।

भारतको गोरखनाथ मठका प्रमुख एवं उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर भ्रमण हेर्दा धार्मिक आस्था देखिएपनि यसलाई प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक कुटनीतिको रुपमा चर्चा सुरु भएको छ । अयोध्याबाट हरेक वर्ष विवाहमा सहभागी हुन पुग्ने भीडको नेतृत्व गरेर मुख्यमन्त्री जनकपुर पुग्नुको पछाडि अन्य कुनै कारण हुन नसक्ने तर्क पनि उत्तिकै चर्चामा छ ।

पछिल्लो समय कुनै पनि छिमेकीसँग राम्रो सम्बन्ध नहुनु र नेपालमाथि नाकाबन्दी लगाए यता बिग्रिएको सम्बन्ध सुधार्न पार्टीभित्रै आइरहेको दबाबका लागि मुख्यमन्त्री आदित्यनाथलाई मोदी आफैले पठाएको हुन सक्छ । स्वयं पटकपटक नेपाल पुग्दा पार्टीभित्र थप टिप्पणी हुने र विपक्षी दललाई पनि चुनावको समयमा नयाँ खुराक हुने भएकाले आफ्नै ग्रान्ड डिजाइनमा आदित्यनाथ जनकपुरमा जन्तीको नेतृत्व गर्दै आएका हुन् । बुधबार सम्पन्न विवाह पञ्चमीमा आदित्यनाथ स्वयंले पनि विशेष दुतमा आफ्नो जनकपुर भ्रमण भएको बताउँदै दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन सिस्टर सिटीको अवधारणा बनाउनुपर्नेमा समेत जोड दिएका थिए ।

आदित्यनाथको बोलीमा पनि मोदीकै शब्द गुञ्जिएका थिए । गत वैशाख २८मा मोदीले जनकपुरमा सम्बोधनका क्रममा दिएको अभिव्यक्ति र प्रतिबद्धता नै पुनः आदित्यनाथले दोहो¥याए । जसलाई भारतीय सञ्चारमाध्यमले २०१९ मा हुने आमनिर्वाचनका लागि मोदीको चातुर्य राजनीतिको रुपमा उल्लेख गरेका छन् ।। भारतीय नरेन्द्र मोदीका नजिकका पात्र आदित्यनाथ हिन्दु धर्मप्रति कट्टर रहेकाले पनि उनको भ्रमणलाई राजनीतिक स्वार्थमा मात्र हेर्न नहुने तर्क पनि उत्तिकै छ । तर, मोदी र भाजपाले हिन्दूधर्मको प्रवद्र्धन गर्ने पुरानो नजिरले पनि आदित्यनाथको भ्रमणलाई राजनीतिक भ्रमणकै रुपमा बुझ्दा नौलो भने नहोला ।

 

LIVE TV