२६ मंसिर २०७५, बुधबार

विराटनगर, २६ मंसिर । एक नम्बर प्रदेशमा विकास निर्माणको कार्यलाई प्रभावकारी र जवाफदेही बनाउन प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम निर्देशिका बनाइएको छ ।

प्रदेश मंत्रीपरिषदबाट पारित भएपछि लागू हुने सो निर्देशिकामा एउटा योजनामा ५ लाख रुपैया भन्दा कम रकम विनियोजन गर्न नपाइने व्यवस्था गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

निर्देशिकामा एउटा निर्वाचन क्षेत्रमा बढीमा १६ वटा योजना मात्र सञ्चालन गरिने बताइएको छ । भौतिक पूर्वाधार बाहेकको योजनामा बजेट विनियोजन गर्न नपाइने व्यवस्था गरिएपछि विगतको जस्तो कार्यकर्ता पोस्ने र भोट बैंकको आधारमा योजना छनौट गर्ने कार्य रोकिने भएको छ ।

एक नम्बर प्रदेश सरकारले यस आर्थिक वर्षका लागि १४ जिल्लाका ५६ निर्वाचन क्षेत्रमा २ करोडका दरले १ अरब १२ करोड रुपैया विनियोजन गरेको छ । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मंसिर महिना भित्रै मंत्रीपरिषदबाट पारित गराउने तयारी भईरहेको र पौष भित्रै रकम निकासा गरिने आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो जानकारी दिए । एक नम्बर प्रदेशका सांसदहरु यतिबेला योजना छनौटमा जुटेका छन् ।

LIVE TV