२६ मंसिर २०७५, बुधबार

जनकपुर । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राजपाका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

भेटमा उत्तरप्रदेश र प्रदेश दुईको सम्बन्धको विषयमा समेत छलफल भएको बताइएको छ । त्यससँगै दुई देशबीचको संस्कृति र सभ्यतालाई जगेर्ना गर्ने विषयमा सेमत छलफल भएको छ । त्यसअघि, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्नुभएको थियो । विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा जनकपुर आइपुग्नु भएका मुख्यमन्त्री आदित्यनाथले करिव आधा घण्टा लगाएर मिथिला परम्परामा जानकी मन्दिरमा पूजा गर्नुभएको हो ।

पूजालगत्तै आगन्तुक पुस्तिकामा आदित्यनाथले राम र सीताको जीवन नेपाल–भारत दुई देशको धर्म, संस्कृति र सभ्यताको अभिन्न अंग भएको उल्लेख गर्नुभएको थियो । मन्दिरको पुजापाठपछि उहाँ जनकपुरको मधेश भवनस्थित मुख्यमन्त्रीको सरकारी निवासमा पुग्नुभएको थियो । दिवाभोजमा सरिक भएपछि रंगभूमि मैदानमा आयोजना हुने सीतारामको विवाहको स्वयंवरमा सहभागी हुने जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

भिटी यूपीरे कलसाइनको निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सीधै जानकी मन्दिर लगिएको थियो । विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले आदित्यनाथलाई स्वागत गरेका थिए ।

LIVE TV