२५ मंसिर २०७५, मंगलवार

काठमाडौं । समाजमा सबै मानिस सधै एउटै अवस्था हुँदैन । आज ठीक मानिस अर्को दिन समस्या पर्न सक्छ, मानिसक सन्तुलन गुम्न सक्छ । कतिका परिवारले रेखदेख गरी उपचार गर्छन भने मानिसक सन्तुलन गुमाउने अधिकांश सडकमा बेवारिशे हुन्छन् ।

सडकमा बेवारिशे हुनेहरु प्रति सायदैको ध्यान जान्छन् । तर लुभुकी श्री नेहा पोखरेल र उनको टिमले सडकमा कोही बेवारिशे अवस्थामा भेटियो भने मन थाम्न सक्दैनन् । बाल्यकाल देखिनै सडकमा मानसिक सन्तुलन गुमाएर बेवारिशे बनेकाहरुलाइ सहयोग गर्ने श्री नेहा र उनको टिमले अहिले धेरै व्यक्तिको उद्धार र उपचार गराएका छन् ।

व्यक्तिगतरुपमा सहयोग गर्दा धेरै झन्झट आउने भएपछि सन् २०१० मा उनिहरुले नेपाल स्नेही काख नामको संस्था दर्ता गराए । जहाँ अहिलेसम्म मानसिक सन्तुलन गुमाएका, परिवारको टुंगो नभएका, बलात्कारपछि गर्भधारण गरेका मानसिक बिरामी तथा उनीहरुबाट जन्मेका बालबालिका गरी ७० जना भन्दा बढीले न्यानो काख पाएका छन् ।

उमेरले भर्खर अध्ययन सकेर कामको खोजीमा भौँतारिन उमेरकी श्रीनेहालाई धेरैले आमा भनेर बोलाउँछन् । कारण उनले उपत्यकाका गल्ली गल्लीबाट कोही बलात्कार भएर छटपटीरहेको बेला, कोही फोहोरमा रमाएको बेला, कोही फोहोरको कन्टेनरमा मृत्युसँग लडिरहेको बेला उद्धार गरिन् र नयाँ जीवन दिएकी छन् ।

अहिले उनको यो गृहमा ४५ जना महिला पुरुष, बालबालिका आश्रीत छन् । अधिकांश महिलाको मानसिक अवस्था अहिले पनि ठीक छैन । अनि उनिहरुबाट जन्मेका सन्तानले आमा चिन्दैनन् न जन्मदिने आमाले आफ्नो सन्तान चिन्छन् ।

उ भविष्य । पशुपति क्षेत्रको डम्पिङबाट उद्धार गरेर अस्पताल पु¥याउँदा चिकित्सकले थोरै आस देखाएका थिए । तर अहिले भविष्यको हाँसोले श्रीनेहा र उनको टिमलाई उज्यालो भविष्यको कल्पना गराएको छ । विभत्स अवस्थामा उद्धार भएका केही अहिले ठीक भएर नेपाल स्नेही काखको काममा सहयोग गरिरहेका छन् ।

अहिले उनीहरु कोहीलाई पनि आफ्नो विगत सम्झना छैन । केही सोध्यो भने फरक फरक जवाफ दिन्छन् । अहिले उनीहरुको दैनिक कार्यसूची छ । खाना खाने, खेल्ने रमाइलो गर्ने ।

अहिले उनिहरु पहिलेको अवस्था र अहिलेको अवस्थाका हेर्दा जोकोहीलाई अच्चम लाग्न सक्छ । उनीहरुको उद्धार त भयो तर उनीहरुको उपचार, खाना बस्न निकै समस्या भयो । आफ्नै घरको खर्चले धेरै थेग्न सकेन । थिएटरमा नाटकमा अभियान समेत गर्ने उनीहरु त्यही नाटक खेलेर त कहिले कहिले मःम बेच्न जान्छन्, कहिले पानी बेच्छन् त कहिले दानवीरहरुको दयाले गुजारा गर्छन ।

यो बिचमा उनिहरुलाई धर्म परिर्वतन गराए पैसा दिने प्रलोभन नआएका होइन तर आँफैलाई चिन्न नसक्ने अवस्थामा छन् उनीहरुलाई धर्म परिर्वतन गराउन उनको आत्मले मानेन । अहिले उनीहरु ७ जनाको टिम छ । सडकबाट उद्धार गर्ने, उपचार गराउनेदेखि स्याहार सुसार रेखदेखसम्म गर्ने ।

आफ्नो भविष्यको चिन्ताले जागिरको खोजीमा भौतारिने बेला उनीहरु स्यमसेवी बनेर मानसिक बिरामीको उद्धारमा जुटिरहेका छन् । उनको एउटै भनाई छ भविष्यमा सडकमा कोही मानसिक रोगी न छटपटिउन, सडकमा कोही बालबालिका जन्मेर अनाथ नभैदिउन । यसरी श्रीनेहाको परिवार खुसी खुसी बसेकोछ एकै छाना मुनी । परिवारका सदस्यहरुलाई अनुशासन पनि त्यसै गरि सिकाईएको छ ।

 

LIVE TV