२५ मंसिर २०७५, मंगलवार

जनकपुरधाम । राम–जानकी विवाहपञ्चमीको सुरक्षासहित सबै तयारी पूरा भएको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा भोलि विवाहपञ्चमी पर्व मनाइँदैछ ।

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वयम् जन्तीको नेतृत्व गर्दै आउने भएकाले जनकपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । सुरक्षा निगरानीका लागि ३ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको डिआइजी हरिबहादुर पालले जानकारी दिनुभयो । योगी आदित्यनाथका लागि भारतबाटै ‘बुलेटप्रुफ’ गाडी ल्याइएको छ ।

भारतीय सुरक्षाकर्मी पनि जनकपुर आइसकेका छन् । मुख्यमन्त्री योगी लखनउबाट जनकपुरधाम विमानस्थलमा ओर्लने कार्यक्रम छ । प्रसिद्ध जानकी मन्दिरमा पूजा–अर्चना गरेपछि योगी प्रदेश सरकारले मधेस भवनमा आयोजना गर्ने दिवाभोजमा सहभागि हुनुहुने छ । भोलि नै रंगभूमि मैदानमा हुने राम–जानकी स्वयम्वरमा सरिक हुँदै मुख्यमन्त्री योगी काठमाडौं आउने बताइएको छ ।

योगीकै सुरक्षाका लागि भन्दै रंगभूमी मैदान प्रवेशका लागि स्थानीय प्रशासनले ‘पास’को व्यवस्था गरेको छ । यसैबीच, विवाहपञ्चमी महोत्सव अन्तर्गत आज पाँचौ दिन मटकोर कार्यक्रम भएको छ । त्रेता युगमा जनकपुत्री सीताले विवाह गर्नुअघि माटो खनेको किंवदन्तीलाई मटकोर विधि भन्ने गरिन्छ । मटकोर विधिमा प्रतीकात्मक सीतालाई नुहाउने र त्यसै समय औकरी (पानीमा भिजाएको चना) बाँड्ने चलन छ ।

LIVE TV