२५ मंसिर २०७५, मंगलवार
  • छविलाल बगाले,

काठमाडौं, २५ मंसिर । काठमाडौंमा सवारीसाधनको चाप बढ्दै जाँदा ट्राफिक व्यवस्थापनमा कठिनाई चुँलिदो छ । ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सरकारले सुरुङमार्गलाई समेत प्राथमिकतामा राखेको छ । कोटेश्वर क्षेत्रमा अत्यधिक ट्रफिक जाम हुन थालेपछि तीनकुनेदेखि जडिबुटीसम्म सुरुङमार्ग बनाइने योजना अघि सारिएको छ । मुलुकका अन्य भागमा पनि सुरुङ मार्गलाई प्राथमिकतामा राख्ने सरकारी योजना प्राथमिकतामा परेको छ ।

कलंकीमा बनाइएको अण्डरपासको काम लगभग सकिएको छ । कोटेश्वरको सवारी चापलाई ध्यानमा राखेर तीनकुनेबाट त्रिभूवन विमानस्थलको दक्षिण भाग हुँदै जडिवुटीसम्म सुरुङमार्ग बनाइने योजना छ । बिशेषगरी उपत्यकाको कलंकी, बालाजु, लैनचौर, दरबारमार्ग, भद्रकाली, माइतीघर, थापाथली, चक्रपथ, कोटेश्वर लगायतका स्थानमा लामो सवारी जाम पर्ने गरेको छ । सवारी चापलाई मध्यनजर गर्दै वैकल्पिक मार्ग बनाइने तयारीमा भौतिक पूर्वाधार, योजना तथा यातायात मन्त्रालय रहेको मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले बताए ।

भक्तपुर, ललितपुर, बानेश्वर र एयरपोर्टबाट आउने सवारी साधनका कारण कोटेश्वर क्षेत्रको सवारी जाम दिनप्रतिदिन बढ्दो छ । यसैलाई कमी गर्नका लागि सरकारले कोटेश्वर–तीनकुने सडक–खण्डमा सवारी साधन नगुड्ने गरी विमानस्थल क्षेत्रमा सुरुङमार्गको तयारी थालेको प्रवक्ता शर्माले जानकारी दिए ।
जापान सरकारको प्राविधिक सहयोगमा सुरुङको विस्तृत डिजाइन तथा ड्रोइङको काम अघि बढाएको छ ।

यस्तै, सरकारले सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा पर्ने सिद्धबाबामा पनि सुरुङ निर्माणका लागि तयारी अघि बढाएको छ । सरकारले कोटेश्वर, खुर्कोट र सिद्धबाबासहित अन्य तीन सुरुङ आयोजनाको विस्तृत प्रतिवेदनका लागि जापान, चीन र स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेको छ । ती बाहेक गणेशमान सिंह मार्गको पालुङ खण्ड, टोखा–छहरे र दिपायल जोड्ने बिपीनगर मार्गमा सुरुङ निर्माण गर्न विस्तृत प्रतिवेदन तयार गरिदिन आग्रह गरेको हो । वैकल्पिक मार्ग निर्माण भए बढ्दो सवारी चाप घट्ने विश्वास लिइएको छ ।

LIVE TV