२५ मंसिर २०७५, मंगलवार

काठमाडौं ,२५ मंसिर । पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग इपीएलमा लगातार तेस्रो हार ब्यहोेरेको छ । आज भएको खेलमा पोखरा विराटनगर वारियर्ससंग सुपर ओभरमा ७ रनले पराजित भएको छ । यो पराजयसंगै पोखराको शीर्ष चारको यात्रा कठिन बनेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पोखरा २० ओभरमा सात विकेट गुमाउदा मात्र ८४ रनमा समेटिएको थियो । यसअघिका दुई खेलमा उच्च योगफल बनाएर पनि पराजित भएको पोखराको प्रदर्शन आज निकै खराव रहयो । ५ रनमा पहिलो विकेट गुमाएको पोखराले १९ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो । उसका दुई खेलाडीले मात्र दोहोरो अंकमा उभिन सके । यसअघिका दुई खेलमा विस्फोटक ब्याटिङ गरेका रिचार्ड लेभी तीन रनमा बाहिरिदा कप्तान केहिल कोट्जेर चार रनमा आउट भएका थिए । त्यसपछि आएका सुविन्धु पाण्डेले खाता समेत खोल्न सकेनन् ।

सुरुदेखि दबाबमा परेको पोखराका कुनै पनि खेलाडीबीच गतिलो साझेदारी नहुँदा उसले ७८ रनमा सात विकेट गुमाउन पुगेको थियो । पउल कोलिग्न र राजेश पुलामीको ३० रनको साझेदारी नै पोखराको खातामा उच्च स्कोर रहयो । पउलले २० रनको योगदान गरे भने राजेशले १७ रनको योगदान दिए । बाँकी खेलाडी दोहोर अंक पनि छुन नसकी बाहिरिए । पोखरालाई सस्तोमा समेटन पिटर भान मिकिरेनले तीन तथा रे भान डेर र्मेवीले दुई विकेट लिएका थिए ।

जवाफमा विराटनगर वारियर्सले १९ ओभर तीन बलमा ८४ रनमा अलआउट भएपछि खेल बराबरीमा उभिएको थियो । पोखरा झै खराव सुरुवात गरेको विराटनगरको पारीको आरम्भ गरेका पारस खड्का मात्र एक रनमा आउट हुँदा अनिश शाहले खाता समेत खोल्न सकेनन् । त्यसपछि शक्ति गौचन र सुसान भारीले लगातार दुई विकेट लिएपछि विराटनगरले २८ रनमा चार विकेट गुमाएको थियो । उसका दुई खेलाडी आसिफ शेख १९ तथा सन्नी पटेल आठ रनमा आउट भएका थिए । कमजोर चुनौती पछ्याए पनि बिराटनगरका मध्यक्रमका खेलाडीहरु पनि जम्न सकेनन् । स्कोरबोर्डमा ४५ रन हुँदा रे भान देर र्मेवीपनि ११ रनमा र रविन क्षेत्री १२ रनमा आउट भएपछि विराटनगरले ५५ रनमा ६ विकेट गुमाएको थियो ।

विराटनगरको स्कोर ५६ हुँदा सातौ विकेट गुमेको थियो । सुमित महर्जनलाई विक्रम सोबले आउट गरे । तर अन्तिममा करण केसीले १५ रन बनाए भने हरी चौहानले १२ रन बनाए । अन्तिम दुई ओभरमा विराटनरलाई जितका लागि मात्र ६ रन चाहिए पनि त्यो पनि पूरा गर्न सकेन् । बलिङतर्फ पोखराका बिपीन खत्रीले तीन तथा सुसान भारी र पउल कोलिग्नले दुई दुई विकेट लिएका थिए ।खेल बराबरीमा उभिएपछि भएको सुपर ओभरमा करण केसीको उत्कृष्ट पारीमा विराटनगरले २१ रनका लक्ष्य दिएको थियो । तर जवाफमा पोखराले मात्र १३ रन बनाउन सक्यो ।

यसैबीच आजै भएको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्सले लगातार दोस्रो जित निकाल्दा चितवन टाइगर्सलाई १२ रनले पराजित भएको छ । प्रतियोगितामा चितवनको लगातार यो तेस्रो पराजय हो । टियु क्रिकेट मैदान कीर्तिपुरमा मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले १९ ओभर तीन बलमा एक सय ४३ बनाएको थियो । जवाफमा चितवन २० ओभरमा ९ विकेट गुमाएदै एक सय ३१ रनमा सीमित रहयो । चितवनका चार खेलाडीले मात्र दोहोरो अंकमा उभिन सकेका थिए ।

LIVE TV