२५ मंसिर २०७५, मंगलवार
  • राजु पौडेल,

झापा, मंसिर २५ । झापाको मेचीनगर नगरपालिका—११, मंगलीस्थित बलभद्र माध्यमिक विद्यालयको भवन निर्माण कार्य आठ वर्षदेखि अलपत्र अवस्थामा छ । सम्बन्धित निकायले समेत चासो नदेखाएका कारण भवनको निर्माण कार्य पुरा हुन सकेको हो ।

आठ वर्ष अघिबाट निर्माणकार्य सुरु गरिए पनि निर्माण व्यावसायीको चरम लापरबाहीले भवन निर्माणको काम अझैँ सम्पन्न हुन सकेको छैन । भारतीय दुतावासको ३ कडोर २८ लाख रुपैयाँको अनुदान सहयोगमा तत्कालीन जिल्ला विकास समिति झापाले २०६६ सालमा विद्यालयको भवन निर्माणको ठेक्का लगाएको थियो ।

काठमाडौंको तुलसी भक्त निर्माण सेवाले १५ महिनामा निर्माण सम्पन्न गर्नेगरी २ कडोर ६६ लाख रुपँयामा ठेक्का सम्झौता गरेको थियो । सुरुवातमा राम्रै काम गरेको तुलसी भक्त निर्माण सेवा एक वर्षपछि एकाएक गायब भएपछि अहिले भवनको निर्माण कार्य ठप्प बनेको हो । त्यसयता भवनको अभावमा विद्यार्थीको संख्यासमेत वर्षेनी घट्दो अवस्थामा रहेको विद्यालयका सहायक प्रध्यानाध्यापक दिपेन्द्र बानियाँले बताए ।

निर्माणको जिम्मा लिएको कम्पनी बेपत्ता भएसँगै निर्माणस्थलमा थुपारिएका लाखौँ मुल्यका निर्माण सामाग्री चोरी हुन थालेका छन् । निर्माण जिम्मा लिएको कम्पनि बेपत्ता भएको भन्दै अभिभावकसहित स्थानीय धेरै पटक तत्कालीन जिल्ला विकास समिति लगायत सम्बन्धित निकायहरुमा गएको भएपनि आश्वासन मात्रै पाएको विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य नरेश महराले बताए ।

त्यतिमात्र होइन निर्माणाधीन भवन समेत गुणस्तरहीन रहेको पाइएको छ । भवनका कतिपय मुख्य पिलर, बिम र पर्खाल समेत बाङ्गीएको छ । यता निर्माण सम्पन्न भईनसकी भवनको भित्ताहरु चर्कन थालेका छन् । निर्माणको जिम्मा लिएको तुलसी भक्त निर्माण सेवाले भवन निर्माणबापत तत्कालीन जिल्ला विकास समितिबाट एक करोड एक लाख रुपैयाँ भुक्तानी लिइसकेको रेकर्डमा देखिन्छ ।

LIVE TV