२५ मंसिर २०७५, मंगलवार

जनकपुरधाम । राम र सीताको विवाह भएको मानिने मार्ग शुल्क पञ्चमी अर्थात विवाह पञ्चमीका दिन विवाहका लागि साइत हेरिरहनु नपर्ने मान्यता छ । तर, तराई–मधेसमा भने सो दिन विवाहका लागि शुभ मानिदैन ।

प्राचीन मिथिलाञ्चालको राजधानी जनकपुरधाममा विवाह पञ्चमी पर्व उत्सवका रुपमा मनाइन्छ । तर, त्यही मिथिलाञ्चल वा तराई–मधेसमा सीताले दुःखद् वैवाहिक जीवन ब्यहोर्नु परेको भन्दै सो दिन विवाह गरिँदैन । सीताले वैवाहिक जीवनमै वनबास, रावणको अपहरण र रामको अविश्वास सहनु परेको थियो । १४ वर्षको वनबास लगत्तै रामले गर्भवती सीतालाई परित्याग मात्रै गरेनन् सीताले ‘अग्निपरीक्षा’ पनि दिनुप¥यो । विवाह पञ्चमीका दिन विवाह गर्दा सीताले झै दुःखद् दाम्पत्य जीवन भोग्नुपर्ने आशंकाका कारण सो दिन विशेषगरी मिथिलाञ्चलमा छोरी अन्मानउने चलन छैन ।

राम र सीताले व्यहोरेको दुःखद् कथाको अन्त्य भने संयोगान्त छ । उनीहरुको विवाहसँगै राम कथाको अन्त्य हुन्छ । विवाह पञ्चमीलाई सुखद् दिनमा रुपमा चित्रण गरिएपनि वैवाहिक जीवनको सुरुवात गर्न भने अझै पनि हिचकिचाइन्छ । मान्यताले मनोविज्ञानमा पारेको प्रभावका कारण विवाह पञ्चमीका दिन विवाह नगर्ने चलन रहेपनि धार्मिक–सांस्कृतिक रुपमा ‘निषेध’ भने छैन ।

पौराणिक मान्यताअनुसार मार्ग शीर्ष महिनाको शुक्ल पक्षको पञ्चमीका दिन राम र सीताको स्वयंवर भएको थियो । राम–सीतालाई आदर्श र मर्यादित दम्पत्तिका रुपमा चित्रित गरिएपनि सो दिन त्यस्तै हुने अठोट र विश्वासमा वैवाहिक सम्बन्ध नजोडिनुमा ‘मान्यता’ मात्रै कारक रहेको मिथिलाञ्चलबासीको भनाइ छ ।

LIVE TV