२४ मंसिर २०७५, सोमबार

संखुवासभा । राष्ट्रिय गौरवको अरुण तेस्रो जलविद्युत परियोजनाको निर्माणकार्य प्रभावित बनेको छ । पाँच वर्षमा सम्पन्न गर्नेगरि काम भइराखेकोमा जग्गाको मुअव्जा नपाएको भन्दै स्थानीय रुष्ट बनेका छन् । आयोजनासम्म जाने सडक आसपासका स्थानीयलाई मुअब्जा नदिइएकोमा विरोध सुरु भएको हो ।

परियोजना निर्माणका लागि तयार गरिएको वातावरण प्रभाव मुल्यांकन डिपिए निर्माणमा स्थानीयका लागि सुविधा उपलव्ध गराउने सम्झौता भएको थियो । सम्झौता अनुसार स्थानीयलाई रोजगार, स्थानीय वस्तुको प्रयोग तथा सम्झौता बमोजिमको मुआब्जा दिइनुपर्ने छ । आयोजनास्थलको जग्गाको मुअब्जा पाएपनि सडक निर्माणमा मुअब्जा नपाएको स्थानीयको असन्तुष्टि रहेको छ ।

अहिले आयोजनाको पावर हाउस र ड्याम साईड निर्माण क्षेत्रमा धमाधम काम भएको । यस्तै ड्याम निर्माण क्षेत्र फ्याक्सिन्दामा डेढ सय मिटर सुरुङ खनिएकोछ । ड्याम साईड क्षेत्रमा जय प्रकाश एसोसियटसले काम गरिरहेको छ भने पावर हाउस निर्माण क्षेत्रमा पट्टेल ईन्जीनियरिङ कन्सल्टेन्टले कामलाई गतिदिएको छ । तर, स्थानीय भने विरोधमा देखिएका छन् ।

अरुण तेश्रो प्रभावित क्षेत्रका अधिकांसलाई मुआब्जा वितरण गरिसकिएको छ । तर केही नागरिकहरुले छ्याङ्कुटीबाट पावर हाउससम्म जाने सडकको मुआब्जा नपाएपछि त्यस क्षेत्रका नागरिकहरु पनि अरुण तेश्रो आयोजनासँग त्यति खुसी छैनन् ।

छ्याङ्कुटी–पावर हाउस सडक खण्डको मुआब्जाको बारेमा दुई थरि कुरा आएकाले समय लागेको जिल्ला समन्वय समितिको भनाई छ । आयोजना विकास कम्पनीले त्यस क्षेत्रमा ३० मिटरको जग्गाको मुआब्जा ४५ सालमा नै दिईसकेको दावी गर्दै आएको छ भने स्थानीयले १५ मिटरको मात्र आफूहरुले लिएको बताउने गरेका छन् ।

हाल भारतबाट ल्याईएका मजदुर र केही पश्चिम नेपालबाट ल्याईएका मजदुरले धमाधम काम गरिरहेका छन् । बाहिरबाट मजदूर ल्याएर काम गराएको स्थानीयलाई चित्त बुझेको छैन । आफूहरुलाई रोजगारी दिइनुपर्ने अडान उनीहरुको छ ।

 

LIVE TV