२४ मंसिर २०७५, सोमबार

पोखरा । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ लङ्काथर जोड्ने विजयपुर खोलामा निर्माणाधीन पुलको शिलान्यास गर्नुभएको छ । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएको स्थान सिक्लेसमा निर्मित शान्ति स्तम्भ उद्घाटन गर्न जाने क्रममा आज उहाँले सो पुलको शिलान्यास गर्नुभएको हो ।

पुलको शिलान्यास गर्दै अध्यक्ष दाहालले पर्यटकीय गाउँ सिक्लेस जाने बाटो पक्की बनाउन आफूले पहल गर्ने बताउनुभयो । सिक्लेससम्म जाने बाटो अझै पनि कच्ची नै भएको बताउँदै उहाँले शान्ति सम्झौतासँग जोडिएको सिक्लेस जाने पक्की बाटो निर्माण सम्पन्न गर्न नैतिक र व्यवहारिक रुपमा आफू लाग्ने बताउनुभयो ।

काँहुखोला—दूधपोखरी ग्रामीण सडकअन्तर्गत विजयपुर खोलाको सिंढीको मुखमा निर्माणाधीन पुल ५४ दशमलब १७ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । पुलको निर्माण २०७६ कात्तिक महीनाभित्र गरिसक्ने गरी सम्झौता भएको छ । पुल निर्माणको लागत रु पाँच करोड ६५ लाख एक हजार छ । पुलको ठेक्का रायमाझी काराभेन जेवी कन्ट्रक्सन काठमाडौँले लिएको सडक डिभिजन कार्यालय पोखराका इञ्जिनीयर आशिक रिजालले जानकारी दिनुभयो ।

मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले पुल निर्माणसँगै मादी गाउँपालिकाअन्तर्गत सिक्लेस, ताङ्तिङ, तपराङ, खिलाङ, थाक, छाचोक, थाम, लङ्काथर, काभ्रेडाडा मौजा र बयरघारीलगायत यस आसपासका तीन हजार घरपरिवारले सेवा प्राप्त गर्न सक्ने बताउनुभयो ।

विस्तृत शान्ति सम्झौता हुनु अगाडि प्रचण्डलगायत तत्कालीन माओवादीका नेतालाई सिक्लेसबाट तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले हेलिकोप्टरमार्फत काठमाडौँ लैजानुभएको थियो । शान्ति प्रक्रियाको थालनीस्थल सिक्लेसमा निर्मित शान्ति स्तम्भको आजै अध्यक्ष प्रचण्ड र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उद्घाटन गर्नुभयो ।

LIVE TV