२४ मंसिर २०७५, सोमबार

काठमाडौं । एभरेष्ट प्रिमियर लिग लिगमा ललितपुर पेट्रियट्सले लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा ललितपुरले पोखरा राइनोजलाई ८ विकेटको फराकिलो अन्तरले पराजित ग¥यो ।

कीर्तिपुरस्थि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ६६ रन बनाएको थियो । पोखरामा दुई विदेशी ओपनर रिचार्ड लेभी र केली कोट्जेरले पहिलो विकेटका लागि ९७ रनको राम्रो साझेदारी गरेका थिए । उनीहरुबीच जारी प्रतियोगितामा यो लगातार दोस्रो उत्कृष्ट साझेदारी पनि हो ।

जसमा लेभीले विस्फोटक ८४ रन बनाउदै पवन सराफको बलमा आउट भएका थिए । उनले ३९ बलको सामना गर्दै तीन चौका र नौ छक्का प्रहार गरेका थिए । त्यसपछि सुनिल धमला व्यक्तिगत १० रनमा बाहिरिए पछि पोखराले एक सय १३ रनमा दोस्रो विकेट गुमाउन पुगेको थियो ।

लगत्तै केली पनि ब्यक्तिगत १९ रनमा बाहिरिए पछि पोखराले ११६ रनमा तेस्रो विकेट गुमाएको थियो । क्रमशः पउल कोउग्लिन १३ रनमा आउट भएपछि पोखराले एक सय ६३ रनमा चौथो विकेट गुमाउन पुगेको थियो । पोखराका लागि विनोद भण्डारीले नटआउट ३४ रन बनाउन सफल भएका थिए । यता बलिङमा पवन सराफले तीन विकेट लिएका थिए ।

एक सय ६७ रनको लक्ष्य पछ्याएको ललितपुरले १५ ओभर ५ बलमा मात्र दुई विकेटको क्षतिमा पोखराले छोडेको लक्ष्य पूरा गरेको थियो । जारी इपीएलमा अहिलेसम्म कै विशाल साझेदारी गर्ने क्रममा दुई भारतीय खेलाडी गौरव तमोर र जयकिशन कोल्सावालले एक सय २९ रनको साझेदारी गरेका थिए ।

उनीहरुले पोखराका रिचार्ड लेभी र केली कोट्जेरले बनाएको एक सय चार रनको कीर्तिमानलाई पनि तोड्न सफल भएका थिए । जसमा कोल्सावालाले ३८ बलको सामना गरि ५१ रन बनाउदै आउट भएपछि ललितपुरलाई पहिलो धक्का लागेको थियो ।

तर आक्रामक खेल पस्केका गौरव तमोर ब्यक्तिगत ८२ रनमा आउट भएपछि ललितपुरलाई एक सय ४६ रनमा दोस्रो धक्का लागेको थियो । उनले ४१ बलको सामना गर्दै चार चौका र आठ छक्का प्रहार गरेका थिए । यस्तै सोनु तामाङले ११ तथा सन्नी पटेलले २० रनको योगदान गरेका थिए ।

LIVE TV