२४ मंसिर २०७५, सोमबार

काठमाडौं, २४ मंसिर । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विश्वका शक्तिशाली राष्ट्रहरु हतियारको प्रतिष्पर्धा छोडेर विश्वमा जारी हिँसा, भोक र रोकलाई निर्मुल गर्नतर्फ लाग्नुपर्ने धारणा राखेका छन् ।

७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक विशेष साक्षात्कारमा बोल्दै मन्त्री ज्ञवालीले यस्तो धारणा राखेका हुन । आयोजित सो साक्षात्कारमा परराष्ट्रविद डा. शम्भुराम सिंखडाद्धारा लिखित पुस्तक ‘Human Rights : Human Wrongs In the Scale of Human Conscience’ को विमोचन गर्दै मन्त्री ज्ञवालीले शक्तिशाली राष्ट्रहरुले विश्वमा जारी हिँसा अन्त्यमा प्रभावकारी रुपमा लाग्नुपर्नेमा जोड दिएका हुन ।

मन्त्री ज्ञवालीले विश्वका विकसित र शक्तिशाली राष्ट्रहरुले हतियारमा लगानी गर्ने रकमको १० प्रतिशतमात्रै विश्वमा जारी हिँसा, भोक र रोकको अन्त्यका लागि खर्चिने हो भने मानवअधिकार सुरक्षित हुने धारणा राखे ।

उनले थपे,‘ठूला राष्ट्रहरुले संयुक्तराष्ट्र वडापत्रमा हस्ताक्षर गरेअनुरुप काम गर्नुपर्छ, ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईरहँदा यमन र सिरियाका मानिसहरुको हालत के छ ? त्यहाँका मानिसले खान पाएका छैनन्, शान्तिकासाथ बाँच्न पाएका छैनन्, यसका बारेमा गम्भिर हुनुपर्छ कि पर्दैन् ?’

उनले अघि थपे,‘विश्वका प्रायः देशहरुले संयुक्त राष्ट्र संघको वडापत्रलाई कानूनको रुपमा स्वीकार गरेको स्थिति छ, त्यसैले विश्वमा जारी हिँसा, भोक र रोगलाई निर्मुल पार्न सक्नु आजको चुनौति हो, वडापत्रअनुसार विश्वका मानिसहरु सार्वभौम भएर बाँच्न पाउँछन्, विश्वका मानिसहरुले आर्थिक, राजनीतिक, बालअधिकार, महिला, लैंगिक, शारिरीक, मानसिक अधिकारहरुको उच्चतम प्रयोग गर्न पाउनुपर्छ ।’

LIVE TV