२४ मंसिर २०७५, सोमबार

पाल्पा । माछा मारेर जीविका चलाउँदै आएका रामपुरका दरै समुदायको पुरानो पेशा अहिले लोप भएको छ । यहाँका दरै समुदायको चिनारीको रुपमा रहेको माछा मार्ने पुर्खौली पेशा विस्थापित हुन पुगेको हो ।

चाडपर्वमा माछाको परिकार अनिवार्य चाहिने भएको हुँदा माछा मार्ने, जङ्गली जनावरसँग शिकार खेल्ने गरेर पुराना पुस्ताले जीविकोपाजर्न गर्दै आएको पुर्खौली पेशा अहिले लोप भइसकेको नेपाल दरै उत्थान समाज रामपुरका अध्यक्ष छमबहादुर दरै बताउनुहुन्छ ।

“जिल्लामै लोपोन्मुख अवस्थामा रहेको दरै समुदायको चिनारीको पुर्खौली पेशालाई निरन्तरता दिन नसक्दा पहिचान नै गुम्दै गएको छ”, उहाँले भन्नुभयो । माछा मार्ने पेशा मात्र होइन दरै समुदायले बोल्ने दरै भाषा पनि अहिले हराउन थालेको उहाँको भनाइ छ ।

यहाँ दरै समुदायका झण्डै ३० घरपरिवारका १५० सदस्य बसोबास गर्दै आइरहेका छन् । अहिले यी समुदाय कृषि, पशुपालन तथा व्यापार व्यवसाय, वैदेशिक रोजगारमा आबद्ध रहेको नेपाल दरै उत्थान महिला समूह रामपुर अध्यक्ष टकमाया दरै बताउनुहुन्छ । पाल्पाको मदनपोखराको कोकलबाट दरै समुदाय रामपुर बेझाड बजारको नजिकै १५० वर्ष अघि बसाइँसराइ गरेका थिए ।

LIVE TV