२३ मंसिर २०७५, आईतवार

मन्थली । मंसिर २५ गते मगंलवारवाट हुने जिल्लाकै ठूलो धनराशी भएको दोश्रो गणेशमान सिंह स्मृति जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगीताको तयारी पुरा भएको आयोजक संस्थाले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापले आयोजना गर्न लागेको उक्त खेलकुद प्रतियोगीता आगामी मंसिर २५ गते देखी २९ गतेसम्म जिल्ला सदरमुकाम मन्थली स्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा हुने र त्यस खेलकुद प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापका सचिव बाशु फुयालले जानकारी दिए । सो खेलकुद प्रतियोगीताको उद्घाटन गर्न नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह रामेछाप आउने भएका छन् ।

जिल्लास्तरमा भलिवल प्रतियोगीता लोप हुँदै गएको भन्दै त्यसलाई संरक्षण गर्नको लागि लोकतान्त्रिक खेलकुद संघले सो खेलको आयोजना गरेको हो । भलिवल खेलालाई राष्ट्रले नै राष्ट्रिय खेलको रुपमा घोषडा गरिसकेकाले यस खेल प्रति जिल्लाका युवायुवतीहरुले पनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सकुन र यो खेल हराउनुनपरोस् भन्नका खातिर संचालन गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष रमेश खड्काले बताए । मंसिर २५ देखी ५ दिनसम्म संचालन हुने उक्त खेलकुदमा रामेछाप जिल्ला भित्रका मात्र खेलाडीहरुले भाग लिन पाउने आयोजक संस्थाले जनाएको छ । जिल्ला भित्रका खेलाडीहरु उत्पादन गर्ने मनासयले यो खेल संचालन गर्न लागिएकाले बाह्य जिल्लाका खेलाडीहरु भने सहभागीता जनाउन पाउने छैनन् ।

सो खेलकुद प्रतियोगीतामा सहभागी हुन चाहने क्लवहरुले मंसिर २४ गतेसम्म आफ्नो नाम दर्ता गरिसक्नु पर्ने र दर्ता वापत रु. ५ हजार रुपैयाँ शुल्क लाग्ने आयोजक संस्थाले जनाएको छ । हालसम्म १६ वटा टिम दर्ता भइसकेको र अन्य खेलाडीहरुको टिम पनि सम्र्पकमा आएकाले २० टिमसम्म हुन सक्ने अनुमान आयोजक संस्थाको रहेको छ । खेलकुद प्रतियोगीता सँगै विभिन्न राष्ट्रिय स्तरका कलाकारहरुवाट सांस्कृतिक कार्यक्रम समेत हुने जनाइएको छ ।

सो भलिवल प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुने टिमलाई नगद क्रमशः १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ५५ हजार ५ सय ५५ रुपैयाँ, ३३ हजार ३ सय ३३ रुपैयाँ र ११ हजार १ सय ११ रुपैयाँ, प्रमाणपत्र, मेडल र शिल्ड प्रदान गरिने भएको छ । त्यस्तै खेलमा सहभागी हुने अन्य खेलाडीहरुलाई पनि सोही अवसरमा पारेर पुरस्कृत गरिने आयोजक संस्थाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

 

LIVE TV