२३ मंसिर २०७५, आईतवार
  • चन्द्रकान्तजोशी

विभिन्न वहानामा कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माण सुस्त बनेको छ । सम्झौता अनुसार तोकिएको मितिमा निर्माण सम्पन्न नहुने प्रष्ट छ । किनकि हालसम्म ५० प्रतिशत मात्र काम सकिएको छ ।

निर्माण कम्पनी, सरकार र अन्य कारणले हुलाकी राजमार्गको सपना तत्काल नै पूरा नहुने देखिएको छ । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत कञ्चनपुर सडकखण्डको काम सक्नुपर्ने समय नजिकिएपनि गति हेर्दा सम्भावना क्षीण देखिन्छ । निर्माण कम्पनीको लापरवाही चरम देखिएका कारण काम हुन नसकेको हुलाकी राजमार्ग योजना कार्यालय आफैं स्वीकार गर्छ ।

कञ्चनपुरको हुलाकी सडक तीन खण्ड बनाएर ठेक्का दिइएको थियो । कञ्चनपुरको दक्षिण क्षेत्रमा डोकेबजारदेखि–बेलौरी–बेल्डाँडी हुदै दैजीसम्मको ६२ किलोमिटरको हुलाकी राजमार्ग निर्माण सुस्त छ । डोकेबजारदेखिबेलौरीसम्मको २० किलोमिटर र बेल्डाडीदेखि दैजीसम्मको २२ किलोमिटर हुलाकी राजमार्ग निर्माणको जिम्मा शर्मा राजेन्द्र जेभीले पाएको छ । राजमार्गको मध्यभागमा पर्ने बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर निर्माणको जिम्मा बाबा–हंश–सिद्धीसाईं जेभीलाई ४१ करोड ७६ लाख ६३ हजार रुपैयाँमा दिइएको छ । शर्मा–राजेन्द्र जेभीले २६ प्रतिशतमात्रै काम गरेको छ । बाबा–हंश–सिद्धीसाँइ जेभीले ४८ प्रतिशत काम गरेको छ ।

डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटर सडक ३३ करोड २ लाख ५२ हाजार रुपैयामा २०७६ साउन मसान्तमा काम सक्नेगरी सम्झौता भएको थियो । तर निर्माण कम्पनीको लापरवाही रहेको स्थानीयको बुझाइ छ । तोकिएकै समयमा काम नगर्ने तर म्याद थप्दै जाने प्रवित्तिले काम सम्पन्न हुन नसक्ने स्थानीय बताउँछन् । कतिपय स्थानमा मुअव्जा दिन सरकार उदासिन बन्दा अर्को समस्या आएको छ । समयमै काम सक्न वेलडाडी गाउँपालिकाले समन्वय सुरु गरेको बताएको छ । गाउँपालिकाले ठेकेदार, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज लगायतसँग समन्वय गरेको बताएको छ ।

विकास निर्माणमा देखिएका बाधा कायमै रहँदा राष्ट्रिय गौरवका आयोजना अलपत्र पर्ने गरेका छन् । यसले मुलुकको समृद्धिको लक्ष्यमा अवरोध उत्पन्न गर्ने निश्चित छ ।

LIVE TV