२३ मंसिर २०७५, आईतवार

हुम्ला ।  जिल्लाकै मध्यक्षेत्रको सर्केगाड गाउँपालिकालाई केन्द्रबाट प्राप्त हुने सःशर्ततर्फको वार्षिक विनियोजित बजेट प्राप्त नहुँदा  महिलाहरू उधारोमा प्रसूति भत्ता स्वीकार्न बाध्य भएका छन् । नियमानुसार हिमाली क्षेत्रमा महिलाहरूले बर्थिङ सेन्टरमा बच्चा जन्माएपछि एक हजार पाँच सय रुपैयाँ प्रसूति भत्ता पाउने व्यवस्था छ । सरकारले भत्ताको व्यवस्था गरेपछि यसरी बर्थिङ सेन्टरमा गएर बच्चा जन्माउने महिलाको सङ्ख्या निक्कै बढेको छ ।

केन्द्रले अनुमानका आधारमा बजेट विनियोजन गरेर पठाउँदा अनुमान गरेको भन्दा पनि बढी महिलाहरूले बर्थिङ सेन्टरमा बच्चा जन्माएपछि हालसम्म प्रसूति भत्ता उधारोमा राख्नुपरेको हो । सरकारले उपलब्ध गराउने प्रसूति भत्ता बच्चा जन्मेको छ महिना पुग्दा पनि नपाएको गाउँपालिका–१ की लालशोभा बुढाले बताए ।

आर्थिक वर्ष २०७४/०७५ मा धेरै महिलाहरू प्रसूति भत्ता पाउनबाट बञ्चित भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले बताउनुभयो । सो अवधिमा गाउँपालिकाका पाँच वटै बर्थिङ सेन्टरमा एकसय ८० बच्चा जन्माएकोमा एकसय जनाले मात्र सो भत्ता पाएको र बाँकी उधारो राखेको संयोजक धामीले बताए ।

केन्द्रबाट प्रसूति भत्ताका लागि दुई लाख पचास हजार बजेट आएको तर बर्थिङ सेन्टरमा बच्चा जन्माउने सङ्ख्या बढी भएकाले भत्ता नपुगेको उनले बताए ।

बर्थिङ सेन्टरमा बच्चा जन्माएर प्रसूति भत्ता नपाउने गाउँपालिका–१ जैरकी मन्दिरा बुढाले भनिन्, “कि भत्ताको व्यवस्थै नगर्नु, गरेपछि सबैलाई पुग्ने व्यवस्था गर्नु ।” कतिपय महिलाहरू भत्ता कै लागि पनि बर्थिङ सेन्टरमा गएर बच्चा जन्माउने गरेको उहाँको भनाइ छ । गत जेठमा बर्थिङ सेन्टरमा बुढाले बच्चा जन्माएकी थिइन् ।

अघिल्लो आर्थिक वर्षमा अपुग प्रसूति भत्ता यस आर्थिक वर्षको अहिलेसम्म पनि वितरण गर्न नसकिएको स्वास्थ्य संयोजक धामीले बताए । यसै आर्थिक वर्षमा पनि पचास भन्दा बढी महिलाले बर्थिङ सेन्टरमा बच्चा जन्माएको तर उनीहरूलाई भत्ता बितरण गर्न सकिएको छैन । यस वर्ष सरकारले हिलामी क्षेत्रमा प्रसूति भत्ता दोब्बर गरेर तीन हजार पु¥याएको छ । तर बजेट भने पाँच लाख मात्र विनियोज भएको छ ।

LIVE TV