२२ मंसिर २०७५, शनिबार

काठमाडौं । धुलोले काठमाडौंको प्रदुषणलाई बढाएको छ । काठमाडौं उपत्यकामा कुहिरो लागे जस्तै धुलोले ढाकिएको देखिन्छ । केही समययता काठमाडौं महानगरपालिकाले भने धुलो सफा गर्न थालेको छ । सडक सफाईका लागि महानगरपालिकासँग दुई वटा ब्रुमर छ । यस्तै सफाईमा सडक विभागले पनि साथ दिएको छ ।

काठमाडौं महानगरपालिका भित्रतर्फ धमाधम सफाई चल्ने गरेको छ । यो कुनै सम्मेलन वा विशिष्ठ विदेशी पाहुनाको स्वागतका लगि सफाई गरिएको होइन । यो महानगरपालिकाले आफ्नो नियमित कामलाई तीव्रता दिएको हो । ‘क्लिन द सिटी’ अभियान अन्तर्गत भित्रि सडकखण्ड सफा पार्न थालिएको छ । त्यसका लागि महानगरपालिकासँग दुई वटा ब्रुमर रहेको छ भने सडक विभागको तीन वटा ब्रुमर प्रयोग गरिएको छ । चक्रपथको अवस्था उस्तै रहेपनि भित्रि सडक सफा देखिन थालेको छ ।

क्लिन द सिटी अभियान अन्तर्गत सफाईले निरन्तरता पाए ‘सुन्दर नगर’ बन्न धेरै समय लाग्दैन । तर, मेलम्ची खानेपानी, विद्युत प्राधिकरण, सडक विभागले समयमै काम नगर्दा र बाहिरी रिंगरोड क्षेत्रको सडकको धुलो भने आक्रान्त नै बनाइदिएको छ ।

काठमाडौं महानगरपालिकाले साना कण धुलो मात्र नभई फोहोर उठाउने ब्रुमरहरु एकमहिना भित्र ल्याइने जनाएको छ । दुई वटा चीनको सहयोगमा र अन्य ३ इटालिएन ब्रुमर ल्याइने छ । जुन हालको ब्रुमरभन्दा दैनिक २ सय किमी सडक सफा गर्ने क्षमता राख्छ । महानगरपालिकाले धुलो रोक्न जेट मेशिन खरिद गर्न म्याप कम्पनीलाई ठेक्का समेत दिइसकेको छ ।

 

LIVE TV