२२ मंसिर २०७५, शनिबार
  • कृष्ण पाण्डे,

रुपन्देही । गौतम बुद्धको जन्मक्षेत्र रुपन्देहीको भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण द्रुत गतिमा अघि बढेको छ । २०७६ असारदेखि नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको छ । अहिलेसम्मको कामको प्रगति हेर्दा नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल बन्ने निश्चित छ ।

तीन किलोमिटर लम्बाई र ४० मिटर चौडाई रहेको गौतम बुद्ध अन्तर्राष्ट्रि विमानस्थल धावन मार्गको ५८ प्रतिशत काम सकिएको छ । चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन निर्माणको जिम्मेवारी द्रुत गतिमा पुरा गर्दैछ । अहिले विमानस्थलको धावन मार्गको कालोपत्रेको काम भईरहेकोछ । निर्माण कम्पनीले सन् २०१९ जुन २८ सम्ममा सञ्चालन योग्य बनाउने लक्ष्य बोकेको छ । विमानस्थल निर्माणको निगरानी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी आफैंले गर्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय टर्मिनल भवन, कन्ट्रोल टावर, कार्यालय भवन, विद्युत् सव–स्टेशन, अग्नि नियन्त्रक कक्ष, पानी ट्याङ्की, सुरक्षाकर्मीको आवासगृहको कामसमेत अन्तिम चरणमा पुगेको छ । एयर ट्राफिक कन्ट्रोलका लागि आवश्यक पर्ने उपकरणको आयात तथा जडानका लागि समेत प्रक्रिया अगाडि बढाइएको छ । यो विमानस्थलमा बोइङ जहाज उडान तथा अवतरणलाई योग्य हुनेछ । धावनमार्ग बनेपछि महत्वपूर्ण पाटो ‘कम्युनिकेसन नेभिगेसन’ उपकरण जडानका लागि समेत बोलपत्र तथा अन्य प्रक्रियागत कामलाई तीव्रता दिइएको छ ।

अब आयोजनाका लागि थप ५ सय विघा जग्गा अधिग्रहण गर्नुपर्ने छ । हालसम्म दश अर्ब रुपैयाँ जग्गा अधिग्रहणका लागि खर्च भएको छ । बाँकी जग्गा अधिग्रहणका लागि थप १३ अर्ब चाहिने आयोजनाले जनाएको छ । सञ्चालनमा रहेको धावनमार्गलाई पार्किङस्थल बनाएर निर्माणाधीन धावनमार्ग सञ्चालनमा ल्याउने तयारी छ । सन् २०२० को नेपाल भ्रमण वर्षका लागि यो अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी बन्ने अपेक्षा राखिएको छ । त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थलमा देखिएको बढ्दो चाप घटाउन यो विमानस्थल विकल्प बन्ने विश्वास राखिएको छ ।

 

LIVE TV