२२ मंसिर २०७५, शनिबार
  • कृष्ण, शिव, मनोज,

लुम्बिनी , २२ मंसिर । विश्वभर बैमनस्यता बढिरहेको बेला राष्ट्रपति बिद्यादेबी भण्डारीले शान्ति र सम्बृद्धिका लागि महामानव बुद्ध जन्मस्थल लुम्बिनीबाट बौद्धशिक्षा संसारभर फैल्याउन आवश्यक भएको बताउनु भएको छ ।

ऐतिहासिक पवित्र स्थल लुम्बिनीमा बौद्ध विश्वबिद्यालय लुम्बिनीद्वारा आयोजित १४ औं बार्षिकोत्सव तथा भवन उदघाटन कार्यक्रमलाई सम्बोद्धन गर्दै राष्ट्रपति भण्डारीले देशको शान्ति,सम्बृद्धिका लागि दक्ष जनशक्ति उत्पादन गर्न लुम्बिनी बौद्धविश्व बिद्यालयले महत्वपूर्ण योगदान निर्बाह गरेको चर्चा गर्नुभयो । उहाँले बौद्धशिक्षा संसारभर फैलाएर लुम्बिनीलाई विश्व शान्तिको आस्था केन्द्र बनाउन अग्रणी भूमिका खेल्न निर्देशन समेत दिनुभयो ।

उहाँले शान्तिका लागि संसारभरबाट आउने बौद्धमार्गी तथा पर्यटक पाहुनाहरुलाई सर्वसुलभ ढंगबाट लुम्बिनी भ्रमणका लागि निर्माणाधीन गौतमबुद्ध विमानस्थल,भैरहवा,लुम्बिनी,तिलौराकोट सडक तोकिएको समय भित्र पूरा गर्न पनि निर्देशन दिनुभयो ।

कार्यक्रममा संघीय मामिला,संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीले गौतमबुद्ध बिमानस्थल नौ महिना भित्र र लुम्बिनी विकास कोष गुरुयोजना तीन बर्ष भित्र पूरा गरिनुका साथै लुम्बिनी भैरहवा सडक पनि तोकिएकै समय भित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रपतिको सदीक्षा अनुसार लुम्बिनी विकास कोषमा निर्माणधीन पाँच हजार जना अटने सभाहल निर्माण,एकसय शैयाको अस्पताल निर्माण तथा बिद्यालय निर्माण गर्ने निर्णय भएको जानकारी पनि गराउनुभयो ।

सो अवसरमा प्रदेश नं. ५ का प्रमुख उमाकान्त झा, लुम्बिनी बौद्धविश्व बिद्यालयका कार्यबाहक उपकूलपति एवं रजिष्टार तिलक आचार्य ,लगायतले मन्तव्य ब्यक्त गरेका थिए । सो अवसरमा विश्व बिद्यालयको शैक्षिक क्षेत्रमा योगदान पुरयाउने बिभिन्न ब्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो भने राष्ट्रपति भण्डारीले शिक्षक आवास,छात्रछात्रा आवास दुईवटा नवर्निमित भवनको डिजिटल प्रविधिबाट उदघाटन गर्नुभएको थियो ।

LIVE TV