नीलहीरा र गोर्खा भूपू सैनिकसँग छलफल



प्रकाशित मिति : Dec 07, 2018

काठमाडौँ : गोर्खा भूतपूर्व सैनिक सङ्घले नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा विभिन्न कारणले बेलायतलगायत मुलुकमा आवासीय सुविधा प्राप्त गरेको गोर्खा भूतपूर्व सैनिकका सन्तानलाई वंशजका आधारमा नागरिकता लिन पाउने व्यवस्था गर्न माग गरेको छ ।

प्रतिनिधिसभा राज्य व्यवस्था समितिको आजको बैठकमा सङ्घका अध्यक्ष कृष्णकुमार राईको नेतृत्वमा रहेको टोलीले नेपाल र अङ्ग्रेजबीचको सम्झौताअनुसार आफूहरु नेपाली राहदानी लिएरै जागीर खान गएको हुँदा बेलायतमा जन्मिए पनि आफ्ना सन्तानलाई वंशजका आधारमा नागरिकता प्राप्त गर्ने ऐनमा प्रावधान राख्न सुझाव दिनुभयो । अध्यक्ष राईले भन्नुभयो, “हामीले आवासीय भिसा मात्र पाएका छौँ, नेपाल र बेलायतबीचको सम्झौताअनुसार हामी त्यहाँ गएका हौँ, भूपू गोर्खाका अहिले हङ्कङमा ४५ हजार र बेलायतमा २० हजार परिवार बसोबास गर्दै आएका छन्, नागरिकताको सवालमा हाम्रा सन्ततिलाई कसरी व्यवस्थापन गर्ने हो, त्यो प्रबन्ध होस् ।”

यसअघि समितिले नीलहीरा समाजका पदाधिकारीसँग उनीहरुले नागरिकताका कारण विभिन्न विषयमा भोग्दै आएका समस्या र समाधानको उपायका बारेमा छलफल गरी सुझाव लिएको थियो । समाजका अध्यक्ष पिङकी गुरुङले तेस्रो लिङ्गी र समलिङ्गीलाई अन्य समूहमा राखेर नागरिकता दिने प्रावधानले आफूहरुलाई अप्ठेरो परेकाले सो प्रावधान सच्याउन माग गर्नुभयो । झट्ट हेर्दा पहिचानका आधारमा नागरिकता प्राप्त गर्ने प्रावधान भए पनि अन्य भन्ने स्थानमा तेस्रो लिङ्गी भन्ने व्यवस्था गर्न तथा नागरिकतामा नाम सच्याउन पाउने र लैङ्गिक पहिचान खुलाउन पाउने व्यवस्थालाई सहज तुल्याउन उहाँले सुझाव दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com