२१ मंसिर २०७५, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठक अन्तरर्गत आजको बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर कडा आपत्ति ब्यक्त गरेको छ । बैठकले मुलुकको विभिन्न विषयमा उठेको प्रश्नमा प्रधानमन्त्री ओलीले ‘आफुले जवाफ दिए वुद्धिजीवि थला पर्ने’ शब्दको प्रयोग गर्नु र पदीय मर्यादा विपरित मात्र नभई संविधानको मर्म विपरित भएको निष्कर्ष निकालेको छ ।

बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रधानमन्त्रीले प्रयोग गर्नु भएको वाक्यांश र चेतावनीको शैलीमा अभिव्यक्ति अधिकारलाई कुण्ठीत गर्ने ढंगले राख्नु भएका शब्दहरु संविधानको धारा १७ को उपधारा २ को ‘क’ ले निर्दिष्ट गरेको प्रत्येक ‘नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रता’ हुनेछ भन्ने शव्द, भावना र मर्मको विल्कुलै विरुद्धमा छ । आफ्नो पदीय गरिमाको हेक्का राख्न यो बैठक प्रधानमन्त्रीलाई सचेत गराउन चाहन्छ ।’

त्यस्तै कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्याको दोषी खोजी गर्दै न्यायको माग गरेर प्रकाशित गरिएका निर्मलाको तस्वीर अंकित पोष्टरहरु प्रहरी लगाई च्यातिएको घटनालाई पनि भत्र्सना गरेको छ । यसै विषयमा विज्ञप्तीमा लेखिएको छ, ‘कञ्चनपुरकी वालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको दोषि खोजी गर्दै न्यायको माग गरेर प्रकाशित गरिएका उनको तस्वीर अंकित पोष्टरहरु प्रहरी लगाई च्यातिएको घटनालाई भत्र्सना गर्दै यो बैठक सो घटनालाई विना हातहतियार शान्तिपूर्ण भेला र प्रदर्शन गर्न सक्ने संविधान प्रदत्त अधिकार माथिको हस्तक्षेप ठहर गर्दछ ।

प्रधानमन्त्रीको तस्वीर सहरमा सजाउन मिल्ने तर न्यायको माग गर्दै एक बालिकाको तस्विर टाङ्दा च्यात्तिने र टाङ्नेहरु पक्राउ पर्ने घटनाप्रति आपत्ति गर्दै यो बैठक न्यायको आवाज र विरोधको स्वर सुन्नै नचाहने प्रवृत्तिको अन्त्य गर्न र यथाशीघ्र निर्मला पन्त प्रकरणका दोषीहरुलाई कारवाहीको कठघरामा ल्याउन सरकार समक्ष माग गर्दछ । निर्मलालाई न्याय दिलाउँदै समग्र नेपाली महिलाको अस्मिता रक्षा गर्ने प्रश्नमा सरकार असफल रहने हो भने नेपाली कांग्रेसले यहि मुद्दालाई लिएर कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्नेछ ।’

विधान संशोधन मस्यौदामा केन्द्रित रहेको आजको बैठकमा केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, दिपक गिरी, अजयकुमार चौरसिया, किशोरसिंह राठौर, मोहनबहादुर बस्नेत, आमन्त्रित सदस्य आनन्द (गोरख) विष्ट र विधान संशोधन मस्यौदा समितिका स्थायी आमन्त्रित सदस्य अमरसिंह पुनले आ–आफ्नो धारणा राखेका थिए । केन्द्रीय कार्यसमितिको बैठक भोलि ०७५ मंसिर २२ गते शनिबार विहान ९ः०० बजे पुनः बस्नेछ ।

 

LIVE TV