२० मंसिर २०७५, बिहीबार

काठमाडाैँ । राष्ट्रपति, सबै दलका नेता, प्रधानमन्त्री, मन्त्री, सांसद तथा उच्च ओहदाका सरकारी अधिकारीलाई यूपीएफले विदेश घुमाउनुका साथै सम्मान र पुरस्कारका नाममा पैसा दिएर प्रभावमा पार्दै आएको देखिन्छ ।

कोरियाका इसाई धर्मगुरु सन म्युङ मुनले सन् २००५ मा स्थापना गरेको यूपीएफको नेपाल शाखाले राष्ट्रपति विद्यादेवी भण्डारीलगायत ४ हजारभन्दा बढीलाई ‘शान्तिदूत’ भन्दै सम्मान गरिसकेको छ । यूपीएफ नेपालले सानाठूला सबै दलका नेतालाई सम्मान गर्ने र विदेश घुमाउने काम गर्‍यो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई यो संस्थाले सबैभन्दा बढी विदेश घुमाएको देखिन्छ । उनी युरोप र अमेरिका मात्रै होइन, उत्तर कोरियासमेत जान भ्याए । यसरी घुमाउन लगेबापत नेपालसँग यूपीएफ नेपालका अध्यक्ष एकनाथ ढकाल ज्यादै नजिकको सम्बन्ध बनाउन सफल भए । यही सम्बन्धलाई प्रयोग गर्दै प्रधानमन्त्री केपी ओलीसँग नजिक हुन पुगे । ओलीमार्फत राज्यका सबै निकायलाई उनले प्रयोग गर्ने आँट गरे ।

ढकालले ओलीको पत्र लिएर म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकीदेखि कम्बोडियाका प्रधानमन्त्री हुन सेनसम्मलाई समिटमा आउन निम्तो दिए । निम्तो दिन जाँदा धेरै देशमा उनले प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईलाई पनि साथै लगे ।

त्यसक्रममा फेसबुकमा पोस्ट गरिएका कतिपय तस्बिरको विरोध भएपछि अहिले उनले हटाएका छन् । यूपीएफको नेपालमा रहेको नक्सालस्थित कार्यालय गोप्य ढंगले चल्दै आएको छ, जहाँ संस्थाको बोर्डसमेत छैन । प्रस्ट रूपमा चिनाउनुपर्ने कानुनी प्रावधान संस्थाले उल्लंघन गरेको छ । याे खबर अाजकाे कान्तिपुरमा छ ।

LIVE TV