१९ मंसिर २०७५, बुधबार

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले ‘वाइडबडी’ विमान खरिद प्रकरणमा सरकार र नेपाल वायुसेवा निगमलाई ३८ प्रश्न सोध्ने तयारी गरेको छ ।

विभागीय मन्त्री रवीन्द्र अधिकारीसँगको छलफलपछि पनि धेरै प्रश्न अनुत्तरित रहेको भन्दै समितिले मन्त्रालय र निगमलाई प्रश्न सोध्ने तयारी गरेको हो । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग नीतिगत निर्णय र निर्देशनका प्रतिलिपी तथा छानविन समितिमा निगमकै पदाधिकारी राख्नुको कारण माग्ने छ ।

समितिले महालेखा परीक्षकको प्रतिवेदनमा उठाइएको विषय, खरिद प्रक्रिया, मूल्य, स्वामित्व, कमिशन रकम, श्वतेपत्रबारे निगम व्यवस्थापनलाई पनि प्रश्न सोध्न लागेको हो । शुक्रवारको बैठकमा थप छलफल गरेर प्रश्न सोध्ने समितिको तयारी छ ।

समितिको बैठकमा उपस्थित मन्त्री अधिकारीले ‘वाइडबडी’ विमान खरिदसँग सम्बन्धित कुनै पनि प्रश्नको स्पष्ट जवाफ दिनुभएन । छानविन समितिको प्रतिवेदन अध्ययन भइरहेको भन्दै मन्त्री अधिकारीले त्यसको निश्कर्ष आएपछि जानकारी गराउन समितिमा आफै उपस्थित हुने अवगत गराउनु भएको थियो ।

मन्त्रीले गैर–जिम्मेवार जवाफ दिएको भन्दै समितिका सदस्यले आक्रोश व्यक्त गर्दा अधिकांशले विमान खरिदमा भएको अनियमितता छानविन गर्नुपर्नेमा जोड दिएका थिए । खरिद प्रक्रियामा सम्लग्न व्यक्तिलाई नै छानविन समितिको सदस्य बनाइएकाले अनियमितताको आशंका बढेको सदस्यहरुको भनाइ थियो ।

केही सदस्यले भुक्तानीको समयमा कार्यरत नागरिक लगानी र सञ्चय कोषका अध्यक्ष र विदेशी मुद्राको स्वीकृत गर्ने राष्ट्र बैकलाई पनि छानविनको दायरामा ल्याउन माग गरेका थिए ।

LIVE TV