१९ मंसिर २०७५, बुधबार

महेन्द्रनगर । कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीस्थित नेपाली भूमिमा सडक निर्माणको काम गर्न लागेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दादागिरी शैलीमा अवरोध गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

सिमानाका गड्डाचौकी (नेपाल–भारत) सीमामा सडक बनाउँदा भारतीय पक्षबाट अवरोध भएको छ । भीमदत्त नगरपालिका–१० गड्डाचौकीदेखि जिमुवा–ब्रम्हदेव जोड्ने नेपाली भूमिमा सडक बनाउँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजामा बाटो बनाउन लागेको भन्दै अवरोध खडा गरेको हो ।

मंगलबार सडक निर्माण गर्न लाग्दा भारतीय एसएसबीले दशगजाको क्षेत्र भन्दै फर्काइदिएको स्थानीय केशर थापाले बताए । गड्डाचौकी गाउँ भएर जिमुवा हुँदै ब्रम्हदेव जोड्ने सीमावर्ती बस्तीको सीमा सडक निर्माणमा भारतीय पक्षबाट अवरोध भएको बताए । एसएसबीले दशगजा भन्दा ५० मिटर दूरीमा मात्रै सडक निर्माण गर्नुपर्छ भन्दै रोकेर काम गर्ने ठाउँबाट फर्काएको उनले बताए् ।

‘आफ्नै जमिनमा पनि सडक बनाउँदा भारतीय पक्षले अवरोध रोकेर दुख दियो ।’ आफ्नो लालपुर्जाको जमिन छोडेर बनाउन लागेको बाटोमा भारतीय पक्षले अवरोध गरेको भन्दै स्थानीयले आपत्ती जनाएका छन् । याे खबर अाजकाे राजधानी दैनिकमा छापिएकाे छ ।

LIVE TV