१८ मंसिर २०७५, मंगलवार

हरेक नेता मुलुकको समृद्धि चाहन्छन् तर समृद्धि हाँसिल गर्ने तरिका वा आइडिया नबुझेर गफ मै कार्यकाल सक्छन् । आफ्नो झुण्ड, आफ्नो सानो सानो इन्ट्रेष्ट, फिस्टे चराको मुटु जत्रो चित्त बोकेर मुलुक बनाउने गफ दिनेहरु गफ दिदा दिदा वृद्ध, रोगी भइसके तै पनि गफ चुट्न छोडेका छैनन् ।
विहानदेखि बेलुकासम्म आन्तरिक दाउपेच र गुट उपगुट बनाउँदै फुर्सद हुन्न बचेको समय सभा समारोहको उद्घाटन आसन र भाषणमा मस्त । रोगको पहिचान नगरी यो दुनियामा कुन रोगको उपचार भएको छ ? यहाँ सिपाहीहरुको लुगा किन्दा कमिशन चल्छ, प्रहरीको रासनमा छ्याकन खान्छन् । कलम, कापी, मसी किन्दा खान्छन्, टेण्डरमा छल कपट जाल झेल छ ।

त्यती कन्ट्रोल गरिदिने तिर ध्यान छैन । सरकारको सह सचिव सरहको ११ तहको उच्च ओहोदामा बस्ने कर्मचारीले दोबाटोमा १ लाख लिएको आँफले समातेर लिएर आएको छु । अड्डा अड्डामा, शिर्षक शिर्षकमा खान्छन् । रोक्न सकिदैन ? राजनीतिज्ञको भद्रगोल हालतको फाइदा कर्मचारी तन्त्रले लुटेको छ । प्रधानमन्त्रीले सुुशासन अवार्ड स्वरुप १ लाख डलर पाउँदा म र मेरो टिमका साथीहरु १ लाख रुपैयाँ घुस लिदै गरेका नेपाल सरकारका सह सचिवको भिडियो खिच्दै थियौँ ।

त्यो पनि व्यस्त पोखराको मुटु बुद्ध चोकमा, दिन दहाडै । उखान मन पराउनु हुने प्रधानमन्त्री ज्युलाई एउटा उखान स्मरण गराउने दृष्टता गर्छु, काशी जाने कुतीको बाटो । तपाई नेकपाको अध्यक्ष मात्र होइन, हाम्रो देशको, मेरो प्रधानमन्त्री हो । तपाईका नेता माधव नेपालको मन राखिदिन वा थुमथुमाउन तपाईले इसाई धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेशनको प्रस्तावलाई स्वीकार्नु परेको कुरा जताबाट टाले पनि देखियो ।

हो, यसरी नो लाई नो भन्न नसक्नाले आज देशको बेइज्जत भयो, जनताको शिर झुक्यो । राष्ट्रको नेता भएपछि एक पटक नाकाबन्दीमा मात्र बोलेर पुग्दैन । २÷४ थान एकनाथ ढकाल र २÷४ थान माधव नेपाललाई गलत प्रस्तावका लागि नो भन्न नसक्ने हो भने जनताले तपाईलाई नै बडेमानको नो भनिदिन्छन् । अनि माधव नेपाल जी र एक नाथ ढकाल जीलाई फकाएर बस्नुस ।

१० मिनेट गुगल गर्दा त्यो युनिर्भसल पिस फेडेरेशनको आन्द्रा भुँडी थाहा भो । त्यो एउटा धर्म प्रचार गर्ने संस्था हो । धर्म प्रचार गर्दा पनि खासै फरक नपर्ला, धर्म प्रचार ग¥या हो पाप प्रचार ग¥या होइन । तर सरकारलाई सहआयोजक बनाउने हैसियत राख्ने संस्थाको इतिहास त विवादरहित हुनु प¥यो नि ।
गरिब देशका लोभि नेतालाई विदेश जाने मोह हुन्छ भन्ने बुझेको यो संस्थाले नेता लैजादै कार्यक्रम गर्दै ग¥यो । कृष्ण प्रसाद भट्राईदेखि केपी ओलीसम्मका नेतालाई युपिएफको नुन खाएकाहरुले गलत व्रिफिङ गर्दै तक्मा लगाईदिदै गरे ।

सबका सब नेताहरु त्यसै गरी फसे जसरी प्रधानमन्त्री केपी ओली फसे । दिग्गज सल्लाहाकार र नाइ भन्न नसकिने आसेपासेबाट हाम्रा प्रधानमन्त्रीहरु हिजो पनि घेरिन्थे, आज पनि घेरिएकै छन् । युनिफिकेशन चर्चका संस्थापक सन म्योन मुन जासुसको आरोपमा उत्तर कोरियामा ५ बर्ष थुनिएका थिए, कर छलीको अभियोगमा १८ महिना अमेरिकामा कैद बसेका थिए ।

बेलायतले प्रवेश निषेश गरेको थियो । ४० वर्षका धनाढ्य मुनसँग १७ वर्षकी सुकुमारी हक जा हानले विहे गरिन र उनको विलियन्स अफ डलरको मालिक्नी बनिन् । विदेश घुम्नका लोभी नेताहरुलाई बर्षौदेखी डुलाएर,पुरस्कार र धनराशी दिलाए । सबै दल र नेताको मन जितेर अझ सुशासन अवार्ड दिएर वेबकुफ बनाइयो ।

विलिनियर जिससकी छोरीका लागि एक लाख डलर भनेको पिनट्स पनि होइन । तर एउटा विवादित धर्म प्रचारक संस्थाको कयाँै हाँगा मध्यको एउटा हाँगाले आयोजना गरेको कार्यक्रममा नेताहरु जोडी बाँधेर आशिर्वाद थाप्न गएको त कतिपनि सुहाएन । त्यस माथी यो संस्था कम्युननिष्ट विरोधी संस्था हो ।
एन्टी कम्युनिजम मुभमेन्ट गर्नु यसको उदेश्यहरु मध्येको एक हो । कम्युनिष्ट पार्टीका जननिर्वाचित प्रधानमन्त्रीलाई एक करोड दिएर अरवौँको प्रचार गरेर गयो युनिफिकेशन चर्चले । अब यो सम्मेलन सकियो र कुरा पनि सकियो भन्नेहरु होलान् ।

हिजो गिरीजाले लिनु हुने, आज केपी ओलीले लिनु नहुने तर्क वेतुकको छ । जनताका प्रधानमन्त्री र जनताको सरकारले भुलसुधार गरेर जनता समक्ष क्षमा याचना गर्दै आयोजक संस्थाको आयस्रोतबारे खोज तलास गर्न जरुरी छ ।

दशकौं देखि प्राय सारा नेतालाई विदेश लाने पैसाको स्रोत के हो । माननिय एक नाथ ढकालको सम्पत्तीको स्रोत के हो, आफन्त नातागोतासहितको चल अचल सम्पत्तीको पूर्र्ण विवरण, स्रोत र ट्याक्स तिरेको प्रमाण पत्र जरुरी छ । व्यक्तिसँग सिँगै सरकार र राज्य निरिह हुन कुनै हालतमा सक्दैन ।

आफुलाई नास्तिक भन्नु हुने पूर्व प्रधानमन्त्री माधव नेपालले आफ्नी आमाको क्रियाकर्म गर्नु भएन । नास्तिक भनेको त कुनै पनि धर्म नमान्नुलाई भनिन्छ होईन र ? तर एउटा चर्चको कार्यक्रममा राज्यको श्रोत साधन, पैसा र सिंगै सरकारको प्रयोग के फाईदाका लागि सिफारिस गर्नु भयो पूर्व प्रधानमन्त्री ज्युले ?

देशलाई पुरै घाटा हुदा कतै तपाईलाई टन्नै नाफा भएर पो हो की ? माननिय एकनाथ ढकालसँगै यस कार्यक्रममा संयोजक पूर्व प्रधानमन्त्री ज्यु र उनका स परिवारको पनि बैंक एकाउन्ट सार्वजनिक गर्न मिल्छ कि मिल्दैन होला ?

LIVE TV