१८ मंसिर २०७५, मंगलवार

काठमाडौं । इसाई धर्मको प्रचारमा संलग्न विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसनको दुई दिने एसिया प्यासिफिक सम्मेलन त सकियो । तर, त्यससँग जोडिएका धेरै प्रश्नको जवाफ न आयोजकले दिएको छ न आलोचनाको केन्द्रमा रहेको सरकारले । सत्तारुढ दलदेखि प्रतिपक्षका नेता र नागरिकदेखि सञ्चार माध्यमसम्मले उठाएका प्रश्न निरुत्तरित नै छन् ।

दुई दिने सम्मेलनमा आफूलाई ‘जिससकी छोरी’ दावी गर्ने युनिभर्सल पिस फेडेरेसनका प्रमुख डा. हक जा हानले ईश्वरीय राष्ट्र स्थापना गर्न आग्रह मात्रै गरिनन् कयौं जोडिलाई ‘आशीर्वाद’ दिइन् । यसरी आशीर्वाद लिने इसाई अनुयायी हुने मानिन्छ । तर, आशीर्वाद लिने कसैले पनि यसबारे जवाफ दिएका छैनन् ।

नेपाल सरकार र सत्तारुढ दलका नेताको संलग्नतामा सबैभन्दा धेरै प्रश्न उठेको छ । कम्युनिष्ट विरोधी पृष्ठभूमि र धर्म प्रचारको ध्येय राख्ने विवादास्पद संस्थाको सम्मेलन सफल बनाउन कम्युनिष्ट नेतृत्वको सरकार र कम्युनिष्ट नेता किन नै मरिमेटेर लागे भन्ने प्रश्नको जवाफ न सरकारले दिएको छ, न नेकपाले । विपक्षी दल सम्मेलनले सरकारको कुटनीतिक अपरिपक्ता छताछुल्ल भएको र सरकारकै प्रोत्साहनमा जातीय द्वन्द्वको विजारोपणसमेत भएको दावी गर्छन् ।

सम्मेलन सफल बनाउन ‘दिल’ खोलेको सरकारले कति खर्च ग¥यो ? आयोजकले कुन स्रोतबाट यतिधेरै पैसा बगायो ? जवाफ आएको छैन । सम्मेलनमा सक्रिय रहेका केही नेताको नामै लिएर उनीहरुले गुप्तरुपमा कतै मोटै रकम त लिएनन् भन्ने जनस्तरको आशंका र प्रश्न छ । विशेषतः नेकपाका बरिष्ठ नेता माधव नेपाल र युनिभर्सल पिस फेडेरेसनको नेपाल ‘च्याप्टर’का अध्यक्ष एकनाथ ढकालमाथि उठेको गम्भीर प्रश्नको जवाफ दिने दायित्व उनीहरु सँगै सरकारको पनि हो । धर्म निरपेक्ष राष्ट्रको सरकार र राजनीतिक नेतृत्व लोभ–लालचमा कुनै एउटा धर्मको प्रचारमा सहभागी हुनुलाई संविधान विरोधीसमेत भनिएको छ ।

मन्त्रिपरिषद्बाट निर्णय नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले १ लाख डलरको सुशासन पुरस्कार थाप्नु हुन्थ्यो-हुँदैनथ्यो भन्ने प्रश्न पनि बहसमा आएको छ । केहीले सम्मेलन सफल पार्न अथक मेहनत गरेकाले प्रधानमन्त्रीलाई अवार्ड दिइएको टिप्पणीसमेत गरेका छन् । जसबारे सरकार वा प्रधानमन्त्रीले स्पष्ट पारेका छैनन् । बरु, सरकारले प्रधानमन्त्रीले पाएको पुरस्कार राशीमा त्यति नै थपेर कोष बनाउने निर्णय गरेको छ । यो भनेको विवादास्पद पुरस्कारलाई सरकारी स्तरबाटै मान्यता दिइनु हो ।

सत्तारुढ र विपक्षी दलका केही नेताले सम्मेलनको चर्को विरोध गरे । तर, तिमध्ये अधिकांशले हिजो युनिभर्सल पिस फेडेरेसनकै सेवा, सत्कार र सम्मान ग्रहण गरेको तथ्य बिर्सिनु हुँदैन । दोहोरो चरित्र देखाएर नैतिक संकटमा परेको ति नेताले पनि स्पष्ट जवाफ दिएका छैनन् ।

 

LIVE TV