१८ मंसिर २०७५, मंगलवार

काठमाडौं । सडकमा गरिएको पिचको आयू सामान्यतया पाँच वर्ष हुन्छ । तर, काठमाडौं उपत्यकाका अधिकांश सडकमा गरिएको पिच एक वर्ष पनि टिक्दैन । र, खाल्डै–खाल्डा हुन्छ । सरकारले बेला–बेलामा खाल्डा पुर्न निर्देशन पनि दिन्छ । तर, बजेट भने पर्याप्त दिँदैन ।

काठमाडौं उपत्यकाका सडक हिउँदमा धुलो र बर्खामा हिलै–हिलो हुन्छ । खाल्डा–खुल्डी हुनु त बाह्रै मासको समस्या भइगयो । सडककै दुरावस्थाका कारण चर्को आलोचना खेप्दा हरेकजसो सरकारले समयमै पुर्न निर्देशन दिन्छ । प्रधानमन्त्री कार्यालयले सडकको अवस्था सुधार र अनुगमनका लागि शक्तिशाली दावी गरिएको सम्यन्त्र पनि बनाएको छ । तर पनि अवस्था ज्यूँकात्यूँ छ ।

सरकारले काठमाडौंको ३ सय २६ किलोमिटर सडकमा रहेका खाल्डा–खुल्डी पुर्न अघिल्लो वर्ष करिब १० करोड खर्च गरेको थियो । अहिलेको अवस्थाले अघिल्लो वर्ष गरिएको खर्च बालुवामा पानी भएको स्पष्ट हुन्छ । तर, जिम्मेवार अधिकारी खानेपानी, ढल र विद्युत प्रणालीको दिर्घकालिन व्यवस्थापननगरेसम्म सडकमा खाल्डाखुल्डी अन्त्य नहुने दावी गर्छन् ।

सडक डिभिजन कार्यालयकाठमाडौंअर्थिक बर्ष २०७५÷०७६ मा काठमाडौं भित्रका सडक मर्मतका लागि ६० करोड बजेट मागेको थियो । तर, विनियोजन भयो १६ करोड मात्र । जसमध्य ४ करोड ८६ लाख १४ हजार रुपैयाँ खाल्डा पुर्न मात्रै छुट्याइएको छ । कार्यालय बजेट निकै कम रहेका कारण पनि समस्या बल्झिरहेको दावी गर्छ ।

सरकारले काठमाडौंका सडकमा रहेका खाल्डा पुर्न प्रति किलोमिटरका लागि करिब १ लाख ४९ हजार रुपैयाँ दिएको छ । विनोयोजित रकम खर्च पनि हुन्छ । तर, आज पुरिएका खाल्डा दुई–चार दिनमा उस्तै हुन्छ । यसले बजेट अभावभन्दा पनि मर्मत नियतमै खोट रहेको स्पष्ट हुन्छ ।

 

LIVE TV