१८ मंसिर २०७५, मंगलवार

काठमाडौँ । केबल कार सञ्चालनमा व्यवसायीको आकर्षण बढेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विभिन्न २० स्थानमा केबलकार सञ्चालनका लागि आवेदन परेको छ । अहिले तीन स्थानमा केबल कार सञ्चालनमा छ भने दुई स्थानमा निर्माण सुरु गरिएको छ ।

मनकामना केबलकार सञ्चालनको झन्डै १५ वर्षपछि आईएमई ग्रुपको ४ अर्ब रुपैयाँ लगानीमा काठमाडौंमा चन्द्रागिरी केबलकार सञ्चालनमा आयो । यस्तै, निजी लगानीमै दोलखाको कालिञ्चोकमा समेत केबलकार सञ्चालनमा आइसकेको छ । पछिल्लो समय निजी क्षेत्रले धार्मिक तथा पर्यटकीय हिसाबमा केबलकार बनाउन थालेपछि देशभर केवलकार निर्माणको प्रतिस्पर्धा चलेको छ । सरकारले लाइसेन्स खुला गरेपछि देशभर निजी लगानीमा केबलकार निर्माण सुरु भएका छन् । हालसम्म दुई दर्जनभन्दा बढी केबलकार सञ्चालनका लागि निजीक्षेत्रबाट काम सुरु भएको छ ।

लगानी बोर्डले हालै मात्र ८५ किलोमिटर लामो केबलकार बनाउन मुक्तिनाथ दर्शनलाई सम्भाव्यता अध्ययन गर्न अनुमति दिएको छ । यसका लागि ४० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । नेपालमा केबलकार एउटा सुहाउँदो तथा भरपर्दो यातायात सञ्जालका रूपमा विकास हुँदै गएकाले निजी लगानी यसतर्फ आकर्षित भएको मन्त्रालयको ठहर छ । अहिले दोलखाको प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा समेत परिसकेको कालिञ्चोक भगवती मन्दिरलाई जोडी कुरीदेखि मन्दिरसम्म केबलकार सञ्चालनमा आइसकेको छ । यो केबलकारले पनि दोलखालाई पर्यटकीय गन्तव्यका रुपमा परिचित गराउन आतुर छ ।

आईएमई ग्रुपले नवलपरासी गैंडाकोटको मौलाकालिका मन्दिरमा दोस्रो केबलकार निर्माण गर्ने तयारी गरेको छ । निजी लगानीमै पोखराको तालबाराहीदेखि सराङकोटसम्म केबलकार निर्माण भइरहेको छ । त्रिवेणी केबलकारले निजी लगानीमा भक्तपुरको सूर्यविनायकमा लिंकसेवा र बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्म केबलकार बनाउन अनुमति मागेको छ । मौलाकालिका डेभलपमेन्ट प्रालिले देवघाटदेखि मौलाकालिकासम्म केबलकार अध्ययनको अनुमति मागिसकेको छ । दिव्यदर्शन प्रालिले मुक्तिनाथ मन्दिर, स्वर्गद्वारी र पाथीभरामा पनि केबलकार सञ्चालन गर्ने भएको छ ।

पोखराको वीरेठाँटीदेखि कागबेनी हुँदै रानीपौवा मुक्तिनाथ मन्दिरसम्म पनि केबलकार निर्माणका लागि अध्ययन भएको छ । काठमाडौं उपत्यकाको बोहोराटार–नागार्जुन डाँडा जामाचोमा पनि अध्ययन सुरु गर्न लागिएको छ ।

LIVE TV