१८ मंसिर २०७५, मंगलवार

काठमाडौं, १८ मंसिर । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले एशिया प्यासिफिक समिट विशुद्ध धार्मिक कार्यक्रम नभएको जिकिर गरेका छन् । उनले भने,‘यो समिट विशुद्ध धार्मिक कार्यक्रम होईनजस्तो मलाई लाग्छ । भाजपाका नेता विजय जोली आएर लामो भाषण दिएर सबैलाई प्रभावित पारेर फर्किएका छन् । लोकतन्त्रवादी नेतृ आङ साङ सुकी पनि आएकी छिन् । कार्यक्रमको प्रस्तुति हेर्दा यसले धर्म प्रचारको सन्देश गएको मलाई लाग्दैन् ।’

आफूले पनि प्रतिनिधि सभाको सदस्य हुँदा उक्त संस्थाबाट भ्रमणको निम्तो आउँदा संस्थाको बारेमा प्रष्ट नभएकोले भ्रमण प्रस्ताव अस्वीकार गरेको उनले सुनाए । उनले भने,‘यो दोहोरो चरित्र कसैलेपनि देखाउन हुँदैन् । बरु बेठीक कुरा छ भने यथार्थ धरातलमा बसेर त्यसको छलफल गरौं । आज केपी ओलीले पाएको पुरस्कार हिजो गिरिजा प्रसाद कोइरालाले पनि ग्रहण गर्नुभएको थियो । अब त्यसको रिभ्यु गर्नुपर्ने हो भने नेपाली कांग्रेसले पनि गर्नुपर्यो नि त । बैठक गर्नुपर्यो । हिजो गल्ती भएको रैछ भनेर कान समात्नुपर्यो ।’

अहिले चर्को स्वरमा विरोध गर्ने नेपाली कांग्रेसका केही नेताहरु त्यही संस्थाको यस्तै खालका कार्यक्रमहरुमा अमेरिका, फिजीलगायतका देशहरुमा गएका उदाहरणहरुपनि प्रशस्तै रहेको उनले सुनाए । उनले थपे,‘आफू चाहीँ त्यही संस्थाको यस्तै स्वरुपको कार्यक्रममा सहभागी हुने, अनि यसकोमात्रै विरोध चाहीँ किन ? यसको अर्थ यो कार्यक्रमको मैले बचाउ गर्न खोजेको होईन् । मैले भन्न खोजेको के हो भने कसैले पनि दोहोरो चरित्र देखाउनुहुँदैन् ।’ सरकारले यो समिटको निम्ति पैसा खर्च गरेको छ भने त्यसको छानबिन गर्नुपर्ने उनको भनाई छ ।

LIVE TV