१८ मंसिर २०७५, मंगलवार

काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले आफ्नो प्रत्यक्ष सहमति, संलग्नता तथा परोक्ष संरक्षणमा क्रिश्चियन धर्म विशेषको कार्यक्रममा सहभागिता जनाउनु आपत्तिजनक रहेको टिप्पणी गरे । उनले भने,‘हाम्रो पार्टी सरकारको यो कदमप्रति गम्भीर आपत्ति जनाउँदछ ।’ सरकारको यो कदमले मुलुकमा डरलाग्दो सांस्कृतिक द्वन्द्वको उत्पत्ति हुने खतरा रहेको पनि अध्यक्ष राणाले औंल्याए ।

आफूहरु धर्मनिरपेक्षताको विराधी भएको सुनाउँदै उनले भने,‘जब यो राष्ट्रलाई धर्मनिरपेक्ष घोषणा गरियो, तब यो मुलुकको मौलिक परिचय नै मेटियो । हामीले संविधान पारित हुने बखतपनि धर्मनिरपेक्षताप्रति गम्भीर असन्तुष्टि र असहमति दर्ज गराएका थियौं ।’

अहिले सरकारले जुन ढंगबाट क्रिश्चियन धर्मको कुरालाई लिएर अगाडि बढाउने प्रयत्न गर्यो त्यो गलत भएको उनको टिप्पणी छ । राणाले थपे,‘धर्मनिरपेक्षतालाई मान्ने पार्टी चाहे त्यसका नेता माधव नेपाल हुन् वा चाहे त्यो हालको प्रधानमन्त्री होस्, उहाँहरु धर्मनिरपेक्षताको पक्षमा आफ्नो विचार स्पष्ट गरेका व्यक्ति हुन् । तर, एशिया प्यासिफिक समिटको नाममा जुन ढंगबाट एउटा धर्मको (क्रिश्चियन धर्म)को पक्षमा उहाँहरु अगाडि सर्नुभयो । सरकारको साधन, स्रोतलाई दुरुपयोग गरेर यसको पक्षमा प्रयोग गर्नुभयो । यो उहाँहरुले नै भनेको कुराको ठीक उल्टो गरेको छ ।’

माधव नेपाल र ओलीको कदम धर्मनिरपेक्षताविरोधी कदम भएको अध्यक्ष राणाको गम्भीर आरोप छ । उनले भने,‘यो साम्यवाद विरोधी कदम हो । साम्यवादले कुनै एक धर्मलाई प्रचार गर्न दिँदैन् । यो सबै हुँदाहुँदै पनि किन यस्तो भैरहेको छ ? कतै यो मुलुकलाई अर्कै दिशामा लैजाने षड्यन्त्र त भएको छैन ? यो मुलुकलाई धार्मिक र सांस्कृतिक कसै अरु पक्षको उपनिवेश बनाउने षड्यन्त्रमा सरकार औजार भएर निस्केको त छैन भन्ने हामीलाई शंका लागेको छ ।’

नेपाललाई बाहिरको धार्मिक र सांस्कृतिक उपनिवेश बनाउने षड्यन्त्रको औजार सरकार बन्न नहुने अध्यक्ष राणाको भनाइ छ ।

LIVE TV