१७ मंसिर २०७५, सोमबार

काठमाडौं । अतिरिक्त शुल्कको नाममा मेडिकल कलेजले विद्यार्थी र अभिभावकको ढाड सेक्दा पनि सरकारले हस्तक्षेप गर्न सकेको छैन । बढी शुल्क लिए जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने र उजुरीको किनारा पनि उसैले लगाउने प्रबन्ध छ । तर, किष्ट मेडिकल कलेजका विद्यार्थीले दिएको उजुरी ‘कारबाही गर्ने निकाय आफू नभएको’ भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुर टकटकिएको छ ।

सरकारले तोकेभन्दा बढी शुल्क लिन नपाइने भएपनि किष्ट मेडिकल कलेजले आउँदै गरेको परीक्षाको लागि भन्दै एमबीबीएसका विद्यार्थीसँग ९० हजार र बिडीएस्कासँग ८७ हजार मागेको थियो ।

कलेजले मागेको अतिरिक्त शुल्क नतिर्दा विद्यार्थीले परीक्षा फर्म भर्न पाएनन् । परीक्षा फर्म भर्ने अन्तिम दिन सोमबार नै थियो ।

मनोमानी शुल्क लिइएको विद्यार्थीको गुनासोपछि त्यसबारे बुझ्न पुग्दा सोमबार कलेजको प्रशासन बन्द थियो । टेलिफोन समेत ‘अफ’ गरेर कलेजका प्रशासक बेपत्ता भएका थिए ।

किष्ट मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क मागेपछि विद्यार्थी र अभिभावकले चिकित्साशास्त्र अध्यन संस्थान डीनको कार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरमा निवेदन दिएका छन् । सोमबार ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी आफैं किष्ट मेडिकल कलेज पुगे । तर, कसैलाई भेट्न सकेनन् । पत्राचार गरिएको भन्दै स्थानीय प्रशासनले कलेजविरुद्ध ठगीमा कारबाही गर्न नसकिने बताएको छ ।

यता, चिकित्साशास्त्र अध्यन संस्थान मेडिकल कलेजकले अतिरिक्त शुल्क लिएको उजुरी किनारा लगाउने दायित्व रहेको स्थानीय प्रशासन नै नरम बन्दा समस्या बढिरहेको स्वीकार्छ ।

समस्या समाधानमा जिम्मेवार बन्नुपर्ने सरकारी निकाय एकले अर्कोलाई देखाएर पन्छिने प्रबृत्तिले मनोमानी शुल्क लिनेहरु प्रोत्साहित भइरहेका छन् भने विद्यार्थीको पैसा र समयसँगै भविष्य नै बर्बाद हुने संभावना बढेको छ ।

 

LIVE TV