१७ मंसिर २०७५, सोमबार

काठमाडौं । नेपाल–भारतबीच बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले प्रतिवेदन तयार पारेको चार महिना भयो । तर, समूहले दुवै देशका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको छैन । प्रतिवेदन नै नबुझाइएको र त्यसका बुँदा सार्वजनिकसमेत नभएको पृष्ठभूमिमा भारतीय जनता पार्टीका नेता विजय जोलीले काठमाडौं आएर प्रतिवेदन भारतलाई स्वीकार्य नहुने बताए । जोलीको त्यो धारणा व्यक्तिगत हो या भारतीय संस्थापनको भन्नेबारे चर्चा भइरहेको छ ।

यिनी भारतीय जनता पार्टीका नेता बिजय जोली । जो आफूलाई नेपाल मामलाका जानकार भन्न रुचाउँछन् । र, यिनको नेपाल आगमन पनि बाक्लै छ । युनिभर्सल पीस फेडेरेसनको निम्ता मान्न काठमाडौंमा आएका जोलीले नेपाल बुझ्ने आफू लगायत भाजपाका नेतासँग छलफल नै नगरी तयार पारिएको प्रतिवेदन भारत सरकारले नमान्ने बताए ।

ईपीजीले सन् १९५० को सन्धीलाई नयाँद्वारा प्रतिस्थापित गर्नेलगायत परिवर्तित सन्दर्भमा द्धिपक्षीय सम्वन्धलाई नयाँ ढंगबाट परिभाषित गर्ने खालको प्रतिवेदन तयार पारेको त्यसका दुवैतर्फका सदस्यले बताउँदै आएका छन् । सीमा व्यवस्थापनदेखि विद्यमान सबै समस्याको समाधान खोज्ने बिषयमा सहमति जुटेको बताइएको छ । भाजपाका नेता भगतसिंह कोशियारी भारततर्फको संयोजक रहेको ईपीजीको प्रतिवेदन भाजपा नेतृत्वको शक्तिशाली सरकारलाई मान्य नहुने जोलीको धारणा व्यक्तिगत हो वा भारतीय संस्थापनकै भन्नेबारे जवाफको खोजी हुन थालेको छ ।

यदी जोलीले भारतीय संस्थापनकै धारणा सार्वजनिक गरेका हुन भने ईपीजीले गरेको कसरत निरर्थक हुने निश्चित छ । होइन् यो जोलीको व्यक्तिगत धारणा हो भने उनी भारतीय संस्थापनभन्दा निकै बाहिर छन् भन्ने प्रष्ट हुन्छ । जोलीको धारणा व्यक्तिगत या संस्थागत जे भएपनि त्यसले सुध्रिदै गएको भनिएको नेपाल–भारत सम्बन्धमा संशय भने थपेको छ ।

विषयको गाम्भीर्यलाई ओझेल पर्ने र अनावश्यक शंका उब्जाउने गरी आएको जोलीको अभिव्यक्तिबारे नेपालले भारतसँग कुटनीतिक जवाफ खोज्नुपर्छ । जोलीको अभिव्यक्ति खण्डन वा समर्थन गर्ने गर्ने दायित्व भारत सरकारसँग पनि उत्तिकै छ । जोली नेपाल मामलामा अनावश्यक टिप्पणी गर्ने भारतीय नेता हुन् । जसले केही अगाडि नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ‘खतरा’मा रहेको भन्दै अनर्गल प्रचार गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV