१७ मंसिर २०७५, सोमबार

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग सोमबार साँझ ब्रसेल्समा भेटवार्ता गर्न लाग्नुभएको बताउनुभएको छ । उहाँले भेटका क्रममा क्षेत्रीय शान्ति र विकासलगायतका मुद्दामा छलफल गरिने जानकारी दिनुभयो ।

इजरायली प्रधानमन्त्रीको कार्यलयद्वारा जारी विज्ञप्तिमा नेतान्याहू सोमबार साँझपख बेल्जियमको ब्रसेल्सतर्फ प्रस्थान गर्नुहुने बताइएको छ । दुई नेताबीचको भेट गत हप्ता नै तय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री नेतान्याहूका साथ इजरायली गुप्तचर निकाय मोसादका प्रमुख, राष्ट्रिय सुरक्षा परिषदका प्रमुख तथा सरकारका सैनिक सचिव रहनु हुनेछ ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले गत अप्रिलमा इजरायलको भ्रमण गर्नुभएको थियो । दुई नेताबीच उक्त भेटका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–प्यालेस्टाइन द्वन्द्वको दिगो शान्ति स्थापनाका बारेमा अगाडि बढाउनुभएको योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

त्यस अवसरमा दुई नेताबीच सिरियामा जारी युद्ध र सिरियामा इरानको स्थायी सैन्य अखडा राख्न दिन नहुने इजरायलको मागका बारेमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV