१७ मंसिर २०७५, सोमबार

खोटाङ, १७ मंसिर । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गर्नमा संलग्न दोषीको पहिचान गरेर कारबाही गर्न सरकार समक्ष नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल खोटाङले माग गरेको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या गर्नमा संलग्न दोषीको पहिचान गरेर कारबाही गर्न सरकारको तरुण दलले सरकारको ध्यानाकर्षण गराएको हो । सोमबार जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै तरुण दलले ४ महिना बित्दा समेत निर्मलाको बलात्कार र हत्याजस्तो जघन्य अपराधिक घटनामा संलग्न बलात्कारी एवम हत्याराको पहिचान गरेर हदैसम्मको कारबाही नभएकोमा आपत्ती प्रकट गरेको छ ।

तरुण दलले कुकृत्यमा संलग्न अपराधीलाई तत्काल कानूनको कठघरामा ल्याउन र निर्मलालाई न्याय दिन सरकारको ध्यानाकर्षण गराउनु परेको तरुण दलका अध्यक्ष भिषण राईले बताए । निर्मलाको बलात्कारपछि हत्या भएको लामो समय बित्दा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै तरुण दलले सरकारको आलोचना गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

तरुण दलले गम्भीर प्रकृतिको अपराधमा संलग्न अपराधीलाई तत्काल कारबाहीको दायरामा नल्याइएमा निर्मलालाई न्याय दिलाउन जुनसकै कदम चाल्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV