१७ मंसिर २०७५, सोमबार
  • रविना बोहरा

बागलुङ, १७ मंसिर । देशमा दिन प्रतिदिन हत्या हिंसा बलात्कारका घटनाहरु बढ्दै गएका छन् । तर यस प्रति सरकार भने मौन देखिएको छ । गत साउन ११ गते कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भयो । यस घटनाका आरोपीलाई पक्राउ गर्न मानसिक सन्तुलन गुमेका व्यक्तिलाई हिरासतमा राख्ने देखि प्रहरीका उच्च पदस्थ व्यक्तिहरु समेत निलम्बनमा परे । तर अझै सम्म घटनाको दोषीलाई प्रहरीले सार्वजनिक गर्न सकेको छैन ।

 २०७१ साल भदौ १२ गते महिलाहरुको महान पर्व हरितालिका तिजका दिन माइत गएर घर फर्कदैँ गरेकी बागलुङकी रुपा गौतमको धारिलो हतियार प्रहार गरी हत्या भयो । तर अहिले सम्म यस घटनाको दोषीलाई पनि प्रहरीले सार्वजनिक गर्न सकेको छैन । यी दुवै घटनामा प्रहरीले ९९ प्रतिशत दोषी पत्ता लगाएर छाडेको बताइन्छ । दिन प्रति दिन महिलामाथि बढ्दै गएको हिंसाका विरुद्धमा बागलुङका महिलाहरु चिसो सडकमा सुतेर विरोध गरेका छन् । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानका अवसरमा नेपाल महिला संघ, नेपाल टे«ड युनियन र महिला समिति बागलुङले निर्मला पन्त, रुपा गौतम र काठमाण्डौमा बिभत्सरुपयमा हत्या गरिएका बुर्तिबाङ्गका संगीना जिसीका हत्यारालाई कारबाही गर्न माग गर्दै लोकतान्त्रीक चोक स्थित सडकमा सुतेर विरोध प्रर्दशन गरिएको हो । ।

‘हत्यारालाई कारवाही गर, हत्या हिंसा बन्द गर, ‘सरकार भेटियो, न्याय भेटिएन’ लगायतका नारा सहित १५ मिनेट चिसो सडकमा सुतेर विरोध जनाएका थिए । कार्यक्रममा महिला संघकी केन्द्रीय सदस्य पार्वती आचार्यले महिलाहरु कुनै पनि स्थानमा सुरक्षित नभएको भन्दै सुरक्षाको प्रत्याभूति गर्न माग गरिन् । हत्या हिंसा बलात्कार लगायतका घटनामा सरकार जिम्मेवार नदेखिएको भन्दै हत्यामा संलग्नलाई पत्ता लगाई तत्काल कारबाही हुनुपर्नेमा महिलाहरुले जोड दिएका छन् । आगामी दिनमा अन्य महिला तथा बालिका बलात्कार र हत्या जस्तो जघन्य अपराधको शिकार बन्न नपोरोस भनेर खवरदारी स्वरुप सडकमा सुतेर बिरोध जनाएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV