१७ मंसिर २०७५, सोमबार

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा बर्खास्त कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश भट्टले पुनर्वाहलीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन बुझाएका छन् । स्रोतका अनुसार हटाएको ३५ दिनभित्र पुनर्बहालीको लागि मन्त्रिपरिषदमा निवेदन दिनुपर्ने प्रावधान अनुसार दुवैजनाले निवेदन दिएको हो ।

स्रोतका अनुसार गत आइतबार प्रहरी निरीक्षक भट्ट र मंगलबार एसपी विष्टले निवेदन दिएका छन् । निर्मलाको बलात्कार र हत्याको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै प्रहरीको सेवाबाट उनीहरुलाई कात्तिक ८ गते गते बर्खास्त गरिएको थियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते उनीहरूलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए । आफूहरुमा अन्याय भएको भन्दै उनीहरु दुवैजनाले त्यसबेलै कानुनी उपचार खोज्ने बताएका थिए ।

यता निर्मला पन्तका अामाबुबा र सर्थकहरू भने अझै अान्दाेलीत छन् ।  निर्मलाकाे बलात्कारपछि हत्या भएकाे चार महिनाभन्दा बढी भइसकेकाे छ, तर अहिलेसम्म पनि अपराधीको पहिचान हुन सकेको छैन । निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै दिनहुँ प्रर्दशन हुने गरेका छन् ।

गत साउन १० गते ‘होमवर्क’ गर्न साथीको घर गएकी कञ्चनपुर भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्
LIVE TV