१६ मंसिर २०७५, आईतवार

राँझा । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले साना किसानलाई सहयोग हुने गरी नीतिगत व्यवस्था गरिने बताउनुभएको छ ।

आज बाँकेको महादेवपुरीमा बाँके बाख्रा व्यवसाय केन्द्रको उद्घाटन गर्दै उहाँले बाख्रा पालनमा लागेका साना किसानलाई सहयोग गर्ने नीतिगत व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ठूला तथा मझौला किसानले सहयोग तथा अनुदान प्राप्त गरिरहे पनि साना किसान सहयोगको पहुँचभन्दा बाहिर रहेका छन् । अब साना किसानले सहयोग पाउने गरी नीतिगत व्यवस्था गर्नेतर्फ जोड दिनेछु ।”

मन्त्री खनालले बाँकेलाई बाख्रा उत्पादन हुने जिल्लाको रुपमा चिनाउन किसानलाई आग्रहसमेत गर्नुभयो । सोही अवसरमा प्रदेश नं ५ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले बाँकेलाई बाख्रा पालनको पकेट क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकार तत्पर रहेको बताउनुभयो ।

यसैबीच बाँकेमा हेफर इन्टरनेशनलको सहयोगमा स्थापना भएको बाख्रा व्यवसाय केन्द्रको सञ्चालन तथा व्यवस्थापनको जिम्मा सामाजिक महिला उद्यमी जिल्ला सहकारी सङ्घलाई दिइएको छ । डेढ वर्षदेखि स्थापना भएको बाख्रा व्यवसाय केन्द्रअन्तर्गत बाख्रा सङ्कलन भवन, ट्रक गरी रु दुई करोड बढीको सम्पत्ति आज मन्त्री खनालको उपस्थितिमा हस्तान्तरण गरिएको हेफरका अधिकृत प्रदीप शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV