१६ मंसिर २०७५, आईतवार

एजेन्सी । समाजमा अग्रजप्रतिको सम्मान च्यूत हुँदै गर्दा टकिर्स एयरलाइन्सका पाइलटले गुरुलाई गरेको सम्मानको भावुक भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित छ । आफूलाई स्कूलमा पढाएका गुरुलाई गरिएको सम्मानले गुरुको मात्र होइन विमानमा रहेकाको पनि आँखा रसाएका थिए ।

टर्किस एयरलाइन्स्का पाइलट मिथाट ओखन ओनन्ले उडान भर्दै गरेको विमानका यात्रु थिए उनको वाल्यकालका शिक्षक सदिक ओन्हर । सम्मानीय गुरुलाई यात्रुका रुपमा पाएपछि पाइलट ओनन्ले ककपिटबाट ‘१० वर्षसम्म पढाउनु भएका गुरुको सम्मानमा आफ्नो र एयरलाइन्स स्टाफका तर्फबाट सम्मान स्वरुप प्रदान गरिएको पुष्पगुच्छा स्वीकार गर्न’ आग्रह गरे । ओनन्को उद्घोष सकिँदासम्म गुरु ओन्हरले आँसु थाम्न सकेनन् ।

लगत्तै एयरलाइन्स्का स्टाफले ओन्हरलाई पुष्पगुच्छा अर्पण गरे । सम्मानको फरक दृश्यका साक्षी बनेका विमानका यात्रु भावुक बने । कतिले आँसु झारे । वीस वर्षदेखि पाइलट रहेका ओनन्ले गुरुप्रति गरेको सम्मानका दृश्य अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ छ । गुरुप्रतिको यो सम्मान अनुकरणीय छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV