१६ मंसिर २०७५, आईतवार

काठमाडौँ । नेपाली काँग्रेसले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ को कार्यान्वयन सुखद र सकारात्मक भएको बताएको छ । तर यसको कार्यान्वयन प्रकृया प्रवेश क्रमको प्रचार शैलीलाई भने काँग्रेसले अनावश्यक र भड्किलो शैली भएको ठहर गरेको छ ।

नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको आज बसेको वैठकले सामाजिक सुरक्षा ऐन ०७४ आफ्नै सरकारको नेतृत्वको समयमा संसदबाट ऐन पारित गर्न निर्वाह गरेको भूमिकाको स्मरण समेत गराएको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारका पालामा ०७४ साउन ९ गते संसदमा प्रस्तुत भई संसदले पारित गरेर साउन २९ मा राष्ट्रपतिबाट प्रमाणित ऐनको सफल कार्यान्वयनबाट समस्त नेपाली श्रमिकको जीवनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास कांग्रेसले लिएको छ । तर हालै मंसिर ११ गते सरकारका तर्फबाट आफ्नै नयाँ कार्यक्रमझै गरेर भ्रम छर्ने गरी प्रधानमन्त्री एवं नेकपा अध्यक्ष के.पी. ओलीको तस्वीर शहरमा सजाएर आफ्नो पार्टीगत प्रचार गर्ने शैलीमा प्रस्तुत गरिएको विषयप्रति नेपाली कांग्रेसको ध्यानाकृष्ट भएको जनाएको छ ।

यसको सफलता भड्किलो शैलीको झुठो प्रचारले नभइ परिपक्व र जिम्मेवार ढंगको व्यवस्थापकीय कुशलताबाट सम्भव हुने व्यवहारिक यथार्थप्रति पनि नेपाली कांग्रेसले सरकारलाई सचेत समेत गराएको छ । सरकार, रोजगारदाता र श्रमिक तीनवटै पक्षको उत्साहवर्धक भूमिकाबाट मात्र यसको सफल कार्यान्वयन हुने भरोसा प्रकट गर्दै प्रमुख प्रतिपक्षीकारुपमा यसको सफलताका लागि नेपाली कांग्रेसले खबरदारी गर्ने र आवश्यक साथ दिने निर्णय समेत गरेको छ । कार्यक्रम कार्यान्वयन गरिएको दिनलाई नयाँ युगको संज्ञा दिनुलाई केवल सरकारको बढ्दो अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी मात्रै भएको आरोप पनि काँग्रेसले लगाएको छ । श्रमिकको हितका लागि ल्याइएको कार्यक्रमको प्रचार नै गर्नु पर्दा श्रमिकको तस्वीर कही प्रयोगमा नल्याइनु तर पार्टीगत चुनावी प्रचारमा जस्तै गरेर प्रधानमन्त्रीको तस्वीरलाई ‘चौतारीमा राजा भेटिए’ शैलीमा यत्रतत्र सर्वत्र टास्नुले नयाँ युग नभइ पुरानो युगको सम्झना गराएको निष्कर्ष पनि काँगे्रसको छ ।

यस्तै केन्द्रीय कार्यसमितिको आजको बैठकले “खास धार्मिक आस्थामा अधारित अन्तर्राष्ट्रय गैर सरकारी संस्थाको आयोजनामा काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकार समेत आयोजकको भूमिकामा संलग्न हुनु र राज्यको व्यापक बजेट र साधनको प्रयोग हुनु संविधानको मर्म र भावना समेतको विपरीत रहेको’ निष्कर्ष समेत निकालेको छ । कांग्रेसले सरकारको यस्तो संलग्नता र राज्यको साधान र स्रोतको दुरुपयोगको घोर भत्र्सना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV