१५ मंसिर २०७५, शनिबार
  • तारा आचार्य,

विराटनगर, १५ मंसिर । मंसिर ६ गते भारतको बरौनीबाट विराटनगर आएको ट्यांकरबाट करिब २ हजार ५ सय लिटर डिजल चोरी भएको घटनाको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले छानबिन शुरु गरेको छ ।

सिआईबीको प्रहरी निरीक्षकको टोलीले शुक्रवार देखि अनुसन्धान शुरु गरेको र सम्बन्धित व्यक्तिहरुसंग सोधपुछ थालेको नेपाल आयल निगम विराटनगरका प्रादेशिक प्रमुख दिनेश यादवले जानकारी दिनुभयो ।

अत्यन्त सुरक्षित र विश्वसनीय मानिएको ट्यांकर लकिङ प्रणाली लगाइएको को १ ख ५९६५ नम्बरको ट्यांकरबाट डिजल हराएपछि नेपाल आयल निगमले उपनिर्देशक अञ्जना पोखरेल नेतृत्वको तीन सदस्यीय अनुसन्धान टोली विराटनगर पठाएको थियो । आयल निगमको टोली शुक्रवार नै राजधानी काठमाण्डौ फर्किसकेको छ ।

नेपाल आयल निगम एक नम्बर प्रदेश डिपोले ट्यांकर मालिकलाई दोब्बर जरिवाना, ढुवानी सम्झौता रद्द र ट्यांकर चालक धर्मेन्द्र स्वर्णकारलाई आयल निगम प्रवेश निषेध लगायतको जरिवाना गरिसकेको छ ।

करिब २ लाख रुपैया खर्च गरेर स्वयं ट्यांकर धनीले नै लगाएको ट्यांकर लकिंग प्रणाली विश्वसनीय र भरपर्दो मानिन्छ । एउटा बरौनी र अर्को विराटनगरमा गरी दुई वटा मात्र साँचो रहेको सो लकिंग प्रणाली प्रयोग गरिएको ट्यांकरमा कतै कुनै तोडमोड नगरि तेल चोरिएकोले सीआईबीले अनुसन्धान थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV