१५ मंसिर २०७५, शनिबार

कैलाली । मानसिक सन्तुलन गुमाएका असहाय महिलाहरुलाई साहारा दिएर पालनपोषणमा जुटेको दृष्टी फाउण्डेशन आर्थिक अभावले संकटमा परेको छ । करिब ७ महिना अगाडि धनगढीमा सञ्चालन भएको ‘दृष्टी फाउण्डेशन’का लागि सहयोगी दाता नहुँदा साहारा दिएर राखेका महिलाहरुलाई पालनपोषणमा समस्या आएको छ ।

मानसिक सन्तुलन गुमाएर सडकको जिन्दगी बिताइरहेका १८ जना महिलाहरु हाल दृष्टी फाउण्डेशनमा छन् । उनिहरुका लागि खान लाउन समेत आर्थिक समस्या पर्दा फाउण्डेशनकी अध्यक्ष कल्पना भट्टले केही दिन अगाडि गाँउबाट खाद्यान्न संकलन समेत गरेकी थिइन् ।

हाल दृष्टी फाउण्डेशनकी अध्यक्ष रहेकी कल्पना भट्ट डडेल्धुरामा जन्मेकी हुन् । काठमाडौंबाट स्नातकोत्तर उत्तिर्ण गरेकी भट्ट एमफिल गरिरहेकी छन् । केही समय देशका विभिन्न सहरमा बेसाहाराको साहाराका लागि काम गरेकी कल्पना भट्टले काम छोडेर पढाईलाई निरन्तरता दिने सोच गरिन् । काम विषेशले धनगढी पुगेकी भट्टले सडक क्षेत्रमा पर्याप्त बेसाहारा महिला अलपत्र अवस्थामा धुलो माटोमा खेल्दै गरेको अवस्थामा देखिन् ।

मानव जातीले जनावरभन्दापनि तल्लो स्थरको जिन्दगी बिताइरहँदा उनको मनमा दया जाग्यो र उनिहरुको पालनपोषणका लागि साहारा घर खोल्ने निधो गरिन् । गत बैशाखमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा दृष्टी फाउण्डेशन नामक संस्था खोलेर बेसाहारा हरुलाई उनले साहारा दिन थालेकमी छन् । मानसिक सन्तुलन गुमाएका महिलाहरुका लागि खानपिनको व्यवस्था त गर्नुनै छ, झन उनिहरुको औषधि उपचार समेत गर्नुपर्दा आर्थिक संकट परेको अध्यक्ष भट्टले बताइन् ।

फाउण्डेशन शुरु गर्ने बेला आर्थिक अवस्थाका बारेमा ख्यालै नगरी सञ्चालन गरेपनि हाल आर्थिक संकट पर्दा कुनै निर्णय लिन नसकिरहेको उनी बताउँछन् । ठाँउ ठाँउमा सहयोगको अपिल गरेपनि सम्बन्धित ठाँउबाट सहयोग नभएको उनले बताइन् । प्राइभेट बोर्डिङ स्कुलबाट खाद्यान्न, लत्ता कपडा सहयोग भइरहेपनि अरु ठाँउबाट कुनै सहयोग नहुँदा फाउण्डेशन चलाउनै मुस्किल भएको उनले बताइन् ।

असहायको साहाराका रुपमा मानसिक सन्तुलन गुमाएका महिलाहरुको उद्दार गरी उनिहरुको पालन पोषण गरिरहेको दृष्टी फाउण्डेशनलाई आज ‘स्टुडेन्ट अर्गनाइजेशन फर सोसल वेल ऐश्वर्या’ले सहयोग गरेको छ । ऐश्वर्या बिद्या निकेतनमा अध्यायनरत बिद्यार्थीहरुले सञ्चालन गरेको सो अर्गनाइजेशनले देउसी भैलो खेलेर संकलन भएको रकम र विद्यार्थी तथा शिक्षकबाट संकलन भएको रकमले फाउण्डेशनलाई कम्मल, टोपी, चप्पल, चिनी तेल लगायतका खाद्यान्न सहयोग गरेको हो ।

विद्यार्थीहरुले अध्यायनलाई मात्रै सीमित नराखी सिंगो समाजका बारेमा समेत सोच्न जरुरी रहेको अर्गनाइजेशनका अध्यक्ष लवदेभ भट्टले बताए । दृष्टी फउण्डेशनमा आर्थिक अभावले बेसाहाराहरुलाई खान लाउन समेत समस्या परेको खबर पाएपछि केही खाद्यान्न र कपडा सहयोग गरेको उनले बताए ।

विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाहरुले इमान्दारीता पुर्वक काम नगरेका कारण आम नागरिकमा व्यक्तिगत स्वार्थका लागि सामाजिक काम गरेजस्तै गर्छन भन्ने भ्रम रहेको छ । एउटा एमफेल अध्यायन गरिरहेकी महिलाले निस्वार्थ रुपमा अशहायलाई साहारा दिन खोज्दा उनलाई सहयोगका लागि खासै चासो गएको देखिदैन । त्यसैले एकचोटी सो फाउण्डेशनको अवलोकन गरेर सक्दो सहयोग गरेमा असहायको जिवनस्थर परिवर्तन हुने थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV